बच्चा नहुने पिरले रोएको थिएँ, बच्चा भएपछि झन् रोएँ

रामेछाप खबर संवाददाता


मूल ढोकाबाट पस्दै गर्दा बेड रुममा निदाएको छोरो रोयो। रजिना रिमाल एक सासमा भित्र पसिन्। छोरालाई काखमा राखेर लोरी गाउन थालिन्। छोरो फेरि निदायो। लिभिङ रुममा निस्किएर भनिन्, ‘निदाउन उसलाई छोइरहनु पर्छ’। कुराकानी सुरु गर्नुअघि अल्ट्रासाउण्ड गर्दा खिचेको छोराको तस्बिर देखाइन्। जुन फोटो खिच्दा रजिना ८ महिनाकी गर्भवती थिइन्।

बिहे गरेको २ वर्ष बित्दै थियो। बिहे गर्दै रजिनाले सल्लाह गरेकी थिइन्, ‘दुई वर्ष चाहिँ हामीले एकअर्कालाई समय दिने। घुम्ने रमाउने। ‘बेबी प्लान’ नगर्ने।’ बिहेको केही दिनबाटै प्रश्न आउन थालसिकेको थियो, ‘अब कहिले आमा बन्ने?’ रजिना चल्तिकी गायिका हुन्। मिडियाकर्मीले पनि पनि यही तेस्र्याउँथे। तर, सबैका सबैखाले प्रश्नको सामना गर्दै आफ्ना लागि जिउन तयार थिए रजिना दम्पति।

बेबी प्लान गरेको ९ महिनासम्म बच्चा बसेन। रजिना पिसिओएसकी बिरामी। महिलामा देखिने यो रोगका कारण धेरैमा बच्चा नहुने समस्या हुन्छ। हर्मोनल प्रोब्लमले उनको महिनावारी पनि ठीक समयमा कहिल्यै भएन। ‘जीवनको एक बिन्दुमा पुगेर म ‘होपलेस’ भइसकेकी थिएँ। साधारण विधिबाट मेरो बच्चा हुँदैन जस्तो लाग्थ्यो। अनि म रुन्थेँ।’

निराशापछिको खुसी

उनका श्रीमान् विनोद श्रेष्ठ सम्झाउँथे। बिहेको लामो समय बच्चा नभएपछि भएका अनेक उदाहरण दिन्थे। रजिना कन्भिन्स भएझैं त गर्थिन् तर फेरि रुन्थिन्। त्यसपछि नियमित चेकअप गर्दै आएको डाक्टर फेर्र्ने सल्लाह भयो। डाक्टर फेरेपछि औषधि पनि अर्कै प्रयोग हुन थाल्यो। त्यसको ४ महिनापछि रजिनाको पेटमा बाबु आयो। रजिना गर्भवती भइन्।

अनियमित महिनावारीका कारण यो पटक पनि रजिनालाई बच्चाको आशा थिएन। तर, विनोद भने आशावादी थिए। रजिनालाई मेडिकलमा चेकअप गराए। ‘त्यो दिन घरमा जमघट थियो। आफन्त सबैजना भान्सामा रमाइलो गरिरहेका थियौं। विनोदले मेडिकलबाट फोन गरेर खुशीको खबर छ भन्नु भयो। घरतिरका आफन्त सबैलाई एकैपटक थाहा भयो। सबैले एकै पटक बधाई दिनुभयो। त्यो बेला मभन्दा धेरै खुशी श्रीमान हुनु भयो,’ रजिनाले खुसी साटिन्।

गर्भवती भएपछि पनि रजिनाले गीत गाउन छोडिनन्। घरको काम पनि गरिरहिन्। घरको कामले कहिलेकहीँ उनलाई स्ट्रेस भएको जस्तो हुन्थ्यो। रोगले गर्दा पनि यो समयमा अलि बढी हेरचाह र आराम गर्न सुझाएका थिए डाक्टरले। रजिना र विनोदको सोच थियो, ‘जिन्दगीको महत्वपूर्ण क्षणलाई सकेसम्म सम्झन लायक बनाउनुपर्छ।’ त्यहीकारण रजिनाले पनि सकेसम्म इन्जोय गरिन्।

जता गयो उतै ‘एक्ट्रा अटेन्सन’ पाउँदा रजिना झन् खुशी हुन्थिन्। ‘अस्पताल जाँदा पनि अरुले बस्नु भनेर सिट छोड्दिनु हुन्थ्यो। घरमा पनि सबैले केयर गरिरहनु भएको हुन्थ्यो। कस्तो खुशी लाग्ने क्या!’ रजिनाले सुनाइन्।

खाना खानै पोखरा

बच्चा पेटमा आएपछि रजिनाले भेज खाना मात्रै खाइन्। मासुको गन्ध मन परेन। पोखरास्थित ‘मोनालिसा थकाली’को खाना सबैभन्दा मन पर्छ उनलाई। श्रीमानले खाना खुवाउनकै लागि पोखरा लगे। ‘उहाँले मलाई खुसी बनाउन एक छाक खानाका लागि पोखरासम्म लैजानु भयो,’ श्रीमानको केयरप्रति उनले खुशी दर्शाइन। भनिन्, ‘यो समय सकेको जति खुशी संगाल्नु पर्छ। के खान मन छ ? कहाँ जान मन छ? भनेर सोधिरहनु हुन्थ्यो।’

जिन्दगीका हरेक क्षण सम्झनलायक हुनुपर्छ भन्ने रजिना दम्पतीले यो समयमा फोटो सुट गराए। बेबी सावर, दहीचिउरा सबै कार्यक्रमलाई उत्सवमय बनाउन सामेल भए। उनीहरुले बच्चाबारे खुब धेरै कल्पना गरे। नजन्मिँदै बच्चाको नाम जुराए। रजिना जे भए पनि स्वागत गर्न तयार थिइन्। विनोदलाई भने छोराको रहर थियो।

अनि अस्पताल

सन २०७५ फागुन २० गते बिहानै रजिना नर्भिक अस्पताल भर्ना भइन्। अस्पताल भर्नापछि बिहानैदेखि पेट दुखेपछि औषधि चलाइयो। दुखाइसँगै बच्चाको कन्ट्रयाक्सन सुरु भएपछि हार्टबिट ह्वात्तै घट्यो। डाक्टर आत्तिए। इमिडेड अपरेसन गर्नुपर्छ भन्ने सल्लाह थिए। रजिनाका श्रीमानले सहमति जनाए। अब अप्रेसन हुने भयो।

त्यतिबेला कोही आफन्त अस्पताल पुगेकै थिएनन्। श्रीमानलाई रजिनासँग बस्ने फुर्सद थिएन। अप्रेसन थिएटरमा जाने बेला रजिनाका बुवा अस्पताल आइपुगे। बुवालाई देखेपछि रोइन। डाक्टरले नडराउन भने। केही नहुने बताए। रजिना भन्छिन्, ‘म डरले रोएकै थिइनँ। म आफूलाई सरेन्डर गरेर अस्पताल गएकी थिएँ। तर, बुवालाई देखेपछि खै के भयो थाहा छैन।’ अप्रेसन थिएटरमा जाने बेला उनले विनोदलाई देख्न पाइनन्।

अप्रेसनको पीडा

अप्रेसनका लागि एनेस्थेसिया दिने बेला पनि गाह्रो भयो। उनको आधा शरीर अनकन्सेस बनाउन समय लाग्यो। अप्रेसनमा ३ जना डाक्टर खटिएका थिए। उनीहरुले आपसमा कुरा गर्दै अप्रेसन गरे। रजिनाले सबै सुनिरहिन्। बच्चा निकाल्नासाथ डाक्टर भने, ‘कस्तो क्युट बेबी’। रजिना तन्किन खोजिन् सकिनन्। बच्चा रोयो। बच्चाको आवाज सुनेपछि रजिना पनि रोइन्। किन रुन पुगिन्, अहिले पनि थाहा छैन।

डाक्टरले बच्चा उचालेर देखाए। त्यसपछि सफा गर्न लगे। सफा गर्न समय लाग्यो। रजिना मेरो बच्चा खोइ ? मेरो बच्चा खाई ? भनेर बरबराइरहिन्। डाक्टरले बच्चा देखाए। टुलुटुलु हेरिरहिन। आँखाबाहेक केही चलेन। उनले छुन पाइनन्। डाक्टरले सोधे, ‘के भयो थाहा भयो’ ? रजिनाले अर्धचेमै भनिन्, ‘मेरो बेबी भयो।’ डाक्टर हाँसे। रजिना भन्छिन्, ‘अप्रेसन भएकाले जिन्दगीको एउटा सुन्दर क्षण हेर्नै पाइनँ। बाबु जन्मिएको सुन्नासाथ श्रीमानको एक्प्रेसन कस्तो थियो होला? त्यो मैले हेर्न पाइनँ।’

विनोदले उनी नर्मल वार्डमा आएको भोलिपल्ट शेयर त गरे। तर, आफैंले देखेको जस्तो भएन उनलाई। भनेका थिए, ‘डाक्टरले हाम्रो छोरालाई जयशम्भो भन्दै ल्याएर दिनुभएको थियो।’ रजिनाको छोरो महाशिवरात्रिका दिन जन्मिएको हो।

नर्मल वार्डमा आउँदा सिजरिङको असरले काँपिरहेकी रजिनाको कानमा एकै पटक धेरै स्वर गुञ्जियो। अस्पताल पुगेका आफन्तले एकैपटक ‘बधाई’ भने। रजिनाले

सबै पीडा भुलिन्

अप्रेसन गरेको ६ दिनमा रजिना घर फर्किन। ७ दिनमा बाबुको न्वारान भयो। उनलाई अचम्म लाग्यो। ‘हाम्रो माइतीतिर बच्चा जन्मिएको ११ दिनमा न्वारन हुन्थ्यो। नेवार समुदायमा ३, ५, ७ दिनमा हुँदो रहेछ’, रजिनाले सुनाइन्।

कठिन तीन महिना

उनलाई ३ महिना गाह्रो भयो। राति बच्चा नसुत्ने। निद्रा नपुग्ने। राम्रोसँग दूध नआउँदा बाबुलाई स्यारलेक्सहरु खुवाउनु पर्ने। रजिनालाई निक्कै पीडा महसुस हुन्थ्यो। तर, उनका श्रीमान राति आफैं उठेर बच्चालाई खुवाउने, बच्चा लिएर बस्ने र सुताउने गर्थे। त्यसैले पनि यो स्ट्रेसबाट बाहिर निस्कन रजिनालाई सजिलो भयो। अहिले उनका छोरा २१ महिनाका भए। छोराबारे रजिना र विनोदका छुट्टाछुट्टै रहर छन्। रजिनालाई चर्चित गायक बनोस् भन्ने लाग्छ। विनोद सोच्छन्, ‘मेरो छोरो खेलाडी भइदिए हुन्थ्यो।’