सडक र कार नभएको शहर बनाउँदै साउदी अरब

रामेछाप खबर संवाददाता


साउदी अरबले सडक र कार नभएको शहर निर्माण गर्ने घोषणा गरेको छ । युवराज मोहम्मद बिन सलमानले शहरको योजना प्रस्तुत गरेका छन् । तेलमाथिको निर्भरता अन्त्य गर्दै नवप्रवर्तनको दिशामा अघि बढ्ने कोशिश गरिरहेको साउदी अरबले काररहित शहरको निर्माण गर्न चाहेको हो । यो शहर १७० किलोमिटर क्षेत्रमा फैलिएको छ । नाम द लाइन राखिनेछ ।

यो निओम प्रोजेक्टको एक हिस्सा हो । साउदी अरबले निओम प्रोजेक्टमा ५०० अर्ब अमेरिकी डलर खर्च गरेको छ । अब बन्ने शहरमा कार्बन उत्सर्जन नहुने साउदी अरबको भनाइ छ । यसमा मानिसहरू पैदलै हिँड्ने र प्रकृति संरक्षण गर्ने साउदी सरकारले विज्ञप्ति जारी गरेर बताएको छ ।

नयाँ शहरमा लगभग १० लाख मानिस बस्नेछन् । सन् २०३० सम्म तीन लाख ८० हजार रोजगारी पनि यसबाट उत्पन्न हुनेछ । शहरका आधारभूत संरचना निर्माणमा लगभग २०० अर्ब डलर खर्च हुने बताइएको छ ।

जापानमा झण्डै सय उडान रद्ध

एजेन्सी । जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्ध भएका छन् । अत्यधिक हावा हुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्ध भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावा हुरी र हिमपात विषेश गरेर देशको उत्तरी भागमा परेको हो ।

जापानका सवैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल)ले मात्रै क्रमशः ४६ र ३४ ओटा उडान रद्ध गरेको जनाइएको छ । धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल ९८ ओटा उडान रद्ध भएको हो । होकाइदोमा शुक्रबार प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो ।