‘वैशाखमा हुने चुनाव कसैले नसोचेको तरिकाले हुनेछ’

रामेछाप खबर संवाददाता

काठमाडौं, १५ माघ ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले आगामी वैशाखमा हुने चुनाव कसैले नसोचेको तरिकाले हुने बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ काभ्रे जिल्ला कमिटीको आज बनेपामा भएको जिल्लास्तरीय बैठक तथा भेला कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले महिला भोट बैंक भएकाले त्यसलाई निष्कलङ्करुपमा पार्टीलाई बहुमत ल्याउने तरिकाले लाग्न आग्रह गर्नुभयो ।

उहाँले पार्टीभित्र पनि प्रतिस्पर्धा हुने भएकाले महिला मुक्ति र अधिकार स्थापित गर्नको लागि महिलाले अब इतिहासको गाथा गाएर मात्रै नहुने भएकाले क्षमता प्रदर्शन गरेर प्रतिस्पर्धामा उत्रनका लागि आफैँ सक्षम हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अधिकारका हिसाबले नेपाली महिला सम्पन्न भइसकेको बताउनुहुँदै अब प्राप्त अधिकारलाई संरक्षण गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । “अब हाम्रो लडाई प्राप्त अधिकारलाई व्यावहारिक रुपमा जीवनमा प्रयोग गर्नका निम्ति अझ बढी संघर्षशिल, गतिशिल र चलायमान हुनुपर्नेछ”, उहाँले भन्नुभयो ।

बागमती प्रदेश सभा सदस्य गोमा भूर्तेलले अब आउने दिनमा आफ्ना हक अधिकारका लागि महिलालाई मिलेर अघि बढ्न आग्रह गर्नुभयो । “राजनीतिबाट टाढा रहेर केही पनि गर्न नसक्ने भएकाले अब महिला पनि कम्मर कसेर लाग्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो ।