बिहे गरेको पत्तै नदिई बाबु बने दुर्गेश

रामेछाप खबर संवाददाता

काठमाडाैँ, ११ माघ ।

‘बिच्च-बिच्चमा’ बोलको गीतमार्फत् चर्चित बनेका गायक दुर्गेश थापा बाबु बनेका छन्। दुर्गेशले सामाजिक सञ्जालमा बच्चासँगको फोटो सार्वजनिक गर्दै ‘सुनौलो संसारमा तिमीलाई स्वागत छ’ लेखेका छन्।

आफू बाबु बनेको कुरा सार्वजनिक गरेपनि उनले बिहे भएको कुरा भने बताएका थिएनन्।
केही महिनाअघि मात्रै एक कार्यक्रममार्फत् म्युजिक भिडियोबाट प्रेमिका सार्वजनिक गरेको छु भनेका उनले अहिले भने बच्चा नै सार्वजनिक गरेका हुन्।
६ महिनाअघि ‘तिमी यति राम्री किन, पर्छ जवाफ दिन’ बोलको गीतमार्फत् उनले प्राची लामालाई म्युजिक भिडियोमा डेब्यु गराएका थिए। उनै प्राचीले दुर्गेशलाई बाबु बनाएकी हुन्।

दुर्गेशलाई कलाकार तथा सञ्चारकर्मीहरूले बाबु बनेकोमा बधाई दिएका छन्।

प्रकाश सपूतलाई हिरो बनाउने फिल्म दशैंमा प्रदर्शन हुने

काठमाडौं– नारायण रायमाझीद्वारा निर्देशित फिल्म ‘परदेशी–२’ २०७८ को दशैंमा प्रदर्शन हुने भएको छ । फिल्मको छायांकन सकिएसँगै निर्माण टिमले आउँदो वर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको हो ।

निर्माता राजेश वंशलले लकडाउनअघि र पछि गरि ५० दिन लगाएर फिल्मको छायांकन पुरा गरिएको बताए । अमेरिका, भारतको विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौंलगायतका स्थानमा फिल्मको छायांकन गरिएको छ ।

निर्माता वंशलले छायांकन सकिएको र परिस्थिति सामान्यतर्फ फर्किँदै गरेको हुनाले प्रदर्शन मिति तय गरिएको बताए ।

‘यस वर्षको दशैंमा प्रदर्शन गर्ने सोचका साथ फिल्मको छायांकन शुरु गरेका थियौं, तर कोरोना महामारीका कारण सम्भव भएन । अब आउँदो वर्ष दशैंमा प्रदर्शन गर्छौं, ’ उनले भने ।

फिल्मको कथा दशैंको परिवेशसँग जोडिएको हुनाले प्रदर्शनका लागि दशैंलाई नै रोज्नुपरेको निर्देशक नारायण रायमाझीले बताए । उनले फिल्मको विषयवस्तुले दर्शकको मन छुने बताए ।

‘हामीले यसपटक अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको विषयवस्तुलाई केन्द्रमा राखेका छौँ । जुन विषयवस्तुलाई दर्शकले रुचाउनु हुनेछ,’ निर्देशक रायमाझीले भने ।

नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रुपमा फिल्म निर्माण गरेका हुन् ।

फिल्मको कथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रहेका गीतकार रमेश विजीले तयार पारेका हुन् ।

फिल्ममा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ ।

लोकगायक प्रकाश यसै फिल्ममार्फत अभिनेताको रुपमा डेब्यू गर्दै छन् ।

यसअघि दर्शकका लागि ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिएका निर्देशक रायमाझी र निर्माता वंशलको ‘परदेशी–२’ तेस्रो फिल्म हो ।

सुदिप कुँवर मुख्य सहायक निर्देशक रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन छ ।