साउदीमा अर्काको गाई फार्ममा काम, नेपाल फर्केर आफ्नै डेरी र गाई फार्म

रामेछाप खबर संवाददाता

इलाम, ११ माघ ।

हुन त वैदेशिक रोजगारीमा जानुको उद्येश्य धन कमाउने नै हो । तर धन कमाउने सँगसँगै त्यहाँ विभिन्न सीप सिकिन्छ । नयाँ कामको नयाँ अनुभव बटुल्न पाइन्छ । परदेशबाट फर्केर आउँदा कसैले केही न केही नयाँ सीप सिकेरै आएका हुन्छन् । तर त्यो सीपको नेपालमा कसैले प्रयोग गर्छन् भने कसैले गर्दैनन् ।
कति त विदेशमा सिकेको सीपको नेपालमा प्रयोग गरेर उद्यमी पनि भएका छन् । यिनै मध्येका एक हुनुहुन्छ, इलाम माङ्सेबुङ–२ का राजु राई । विदेशको अनुभव प्रयोग गर्दै घरदेशमै जाँगर चलाएर राई स्थापित कृषक बन्नुभएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा विं सं. २०६५ सालमा राजु साउदी पुग्नु भयो । त्यहाँको अलमाई कम्पनीमा ६ वर्ष पसिना बगाउनु भयो । उहाँले त्यहाँ गाईफार्ममा काम गर्नुहुन्थ्यो । काम गर्दै जाँदा राजुले त्यहाँ गाईफार्मको बारेमा आधाभूत ज्ञान हासिल गर्नुभयो । त्यहाँ सिकेको सीप लिएर राजु २०७० सालमा नेपाल आउनु भयो । आर्थिक संकटमा परेर परदेशिनु उहाँका लागि एक अवसर जस्तै बन्न पुग्यो । अन्ततः २०७४ मा उहाँले १२ लाख लगानी गरेर ‘अनुग्रह गाईफार्म’ स्थापना गर्नु भयो ।

‘विदेश नगएको भए म कहाँ यो स्थानमा पुग्थेँ र ?, मैले जे गरे विदेश गएर ठीक गरेँ’, राजु भन्नुहुन्छ, ‘त्यहाँबाट सिकेको सीपले नै आज मैले गाईफार्म चलाइरहेको छु ।’

राजुले सुरुमा विराटनगर, धाइजन, काकरभिट्टा लगायतबाट ‘होलेस्टिन’ जातका गाई किन्नु भयो । पाँच वटा गाईबाट थालनी गरेको गाईफाममा अहिले १४ माऊ गाई र तीन भैँसी गरी १७ वटा गाईभैँसी छन् । ३० रोपनी जग्गा भाडामा लिनुभएको छ । यसका लागि वार्षिक एक लाख रुपैँया खर्च हुन्छ । अहिलेको उहाँको लगानी गाईफार्ममा मात्रै १८ लाख रुपैँया पुगेको छ । फार्मबाट प्रतिदिन एक सय २० लिटर दूध उत्पादन हुन्छ ।

बजार नपाएर दूध खेर नजाओस् भनेर उहाँ आफैले दुईवटा डेरी पनि खोल्नुभएकाे छ । आफैले गाउँलेबाट दूध संकलन गरेर डेरी सञ्चालन गर्नुभएकाे हाे । डेरी पनि खुलेपछि उहाँलाई उत्पादित दूध बिग्रेर जाने चिन्ता भएन । दूध नबिके पनिर, छुर्पि, दही, घ्यू बनाएर बेच्ने गर्न थाल्नुभयो । अहिले उहाँले आफ्नो डेरीमा हरेक दिन गाउँबाट पाँच सय लिटर दूध संकलन गर्नुहुन्छ । आफ्नो व्यवसाय सँगसँगै उहाँले गाउँका अरु कृषकहरुलाई पनि बजारको लागि सघाइरहनुभएको छ । उहाँको डेरीबाट उत्पादित सामान विराटनगर, चितवन, काठमाण्डौसम्म पनि पुग्ने गरेका छन् ।

ढुवानीको समस्या
कच्ची सडक तथा यातायातको राम्रो व्यवस्था नहुनुले राजुलाई उत्पादित वस्तु ढुवानीमा केही समस्या हुने गरेको छ ।

‘आफ्नो गाडी नहुँदा ढुवानी खर्च मात्रै ४० हजार रुपैँया लाग्छ, व्यवस्थापन गर्न भने निक्कै गाह्रो छ,’ उहाँको यस्तै अर्काे समस्या पनि छ, ‘ग्रामिण क्षेत्र भएकाले बिजुलीको सुविधाबाटसमेत वञ्चित बन्नु परेको छ ।’

ढुवानी सहज हुँदो हो त डेरी र गाईफार्ममा नयाँ प्रविधिको प्रयोग गर्ने मन छ राजुलाई । तर खर्च अभावका कारण मन भए पनि अभावैमा सञ्चालित छन्, गाईफार्म र डेरी । उल्टै कोरोनाको बेला घाटा बेहोर्नुपर्यो राजुले । कोरोना भाइरसका कारण नेपालमा बन्दाबन्दी भयो । उत्पादित सामानको बिक्री भएन । बिक्री भए जति पनि सबै उधारो । बन्दाबन्दीमा उधारो गएकाको अझै पनि रकम उठेकाे छैन । गुनासो पोख्दै उहाँ भन्नुहुन्छ, ‘छ लाख रुपैँया घाटा भयो ।’

गाउँमै पाँच जनालाई रोजगारी
कतिका लागि परदेश दुःख गर्ने थलो मात्र बन्छ भने कतिका लागि भविष्यकाे नयाँ मार्ग बनिदिन्छ । सुन धितो राखेर त्यतिबेला परदेश गएकोमा अहिले कुनै पछुतो लाग्दैन राजुलाई । साउदीले नै राजुलाई गाइफार्म सञ्चालन गर्ने आँट दियो । उहाँ भन्नुहुन्छ, ‘नेपालमै बसेको भए गाईफार्म खोलेर अरुलाई रोजगारी दिन्छु भन्ने सोच्नु सपनाको कुरा हुन्थ्यो होला ।’

राजुले गाउँमै पाँच जनालाई रोजगारी दिनु भएको छ । जसमा दुई महिला तीन पुरुष छन् । आफ्नै गाउँका दुई छन् भने तेह्रथुमका तीन जना छन् । जसमध्ये एक जना वैदेशिक रोजगारीबाट फर्किएका हुनुहुन्छ । काम गर्नेलाई उहाँले राम्रो तलब र सुविधासमेत उपलब्ध गराउनु भएको छ । महिनाको तलब बढीमा २० हजार कममा १७ हजार रुपैँया दिइएको छ । जसमा पाँच हजार उपचार खर्च छ । खान बस्न भने निःशुल्क गरिएको छ । कोरोनाको मारमा पनि तलब पाउनु, गाउँमै रोजगारी मिल्नु र काम अनुसारकै तलब पाएकोमा कामदारहरु पनि खशी छन् ।

व्यवसायलाई फैलाउँदै लैजाने सोच
राजुलाई जिल्ला पशु सेवा कार्यलयले २०७५ सालमा सम्मान गर्यो । ‘उत्कृष्ट गाईफार्मका रुपमा सम्मानित बन्न पाउदा ओहो ! मैले केही गरेछु है भन्ने लाग्यो, एकदम खुशी भएँ नि’, उहाँ भन्नुहुन्छ । तर राजुलाई यतिमै सिमित रहन मन छैन । आफ्नो व्यवसायलाई फैलाउँदै लैजाने सोच बनाउनुभएको छ उहाँले ।

पछिल्लो समय राजुले सुँगुर फार्म समेत सञ्चालनमा ल्याउनु भएको छ । सुँगुर फार्ममा अहिले १० वटा सुँगुर छन् । तरकारी र फलफूल बाली पनि छ । कागती, सुन्तला, एभोकाडो, उन्नत जातका घाँस (सिओ थ्री, नेपियर, सुपरनेपियर, किम्बु) लगायतलाई उहाँले वैकल्पिक आय स्रोतका रुपमा खेती गरीरहनु भएको छ । यत्ति गर्दा समेत प्रविधि निकट नँया मेसिन जडान गर्न नसकेकाले थप व्यावसायिक बन्न नसकेको उहाँ गुनासो पोख्नुहुन्छ ।

‘समाजसेवी भनेर चिन्छन्, खुशी लाग्छ’
राजु गाईफाम र डेरीका सञ्चालकका रुपमा मात्रै नभएर समाजसेवीका रुपमा पनि चिनिनु हुन्छ । गाउँका विपन्न परिवारका चार जना नानीहरुलाई पालनपोषण र पढाइको जिम्मा आफैले लिनु भएको छ राजुले ।
‘उनीहरुका बुवाआमा छैनन् । त्यही भएर सहयोग गरेको हुँ’, राजुले भावुक हुँदै भन्नुभयो, ‘अनाथ बालबालिका देख्यो भने सकेको सहयोग गरौँ भन्ने हुन्छ, नदेखे झैं गरेर भाग्न मन लाग्दैन ।’