राजतन्त्रको अपमान गर्दा ४३ वर्ष जेल

रामेछाप खबर संवाददाता

काठमाडौं, ७ माघ ।

थाइल्यान्डमा एक पूर्व कर्मचारीले राजाको अपमान गरेको स्वीकार गरेपछि ४३ वर्षको कारावास सजाय दिइएको छ ।
मंगलवार बैंकक फौजदारी अदालतले आनचान नाम गरेकी ती महिलालाई राजसी कानूनको उल्लंघनको गरेकोमा सजाय दिएको हो । उनले फेसबूक र यूट्युबमा राजतन्त्रको विरोध गर्दै गरिएको टिप्पणीका अडियो क्लिप शेयर गरेकी थिइन् ।

संविधानको धारा ११२ ले थाई जनतालाई राजाको आलोचना गर्न प्रतिबन्ध लगाएको छ । यसको प्रत्येक काउन्टमा १५ वर्षको कारावास सजायको व्यवस्था छ ।
ती महिलाको उमेर ६० भन्दा बढी छ र उनलाई ४३ वर्ष ६ महिनाको सजाय दिइएको हो । खासमा उनले ८७ वर्षको सजाय पाएकी थिइन् तर अपराध स्वीकार गरेपछि सजाय आधा घटाइएको हो । उनीमाथि विगत ६ वर्षदेखि मुद्दा चलिरहेको थियो । सन् २०१४ मा शाही थाई सेनाका कमान्डर प्रयुतले सैन्य कू गरेपछि राजतन्त्रविरोधी आवाज सुनिन थालेको थियो ।

उनलाई सन् २०१५ को जनवरी महिनादेखि सन् २०१८ को नोभेम्बर महिनासम्म कारागारमा राखिएको थियो ।
आनचानले ४० वर्षसम्म सरकारी कर्मचारीका रूपमा काम गरेकी थिइन् । सेवानिवृत्त हुनुभन्दा एक वर्षअघि उनी पक्राउ परेकी थिइन् । उनी कसूरदार ठहरिएकाले पेन्सनबाट वञ्चित हुने भएकी छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।