मास्क लगाउँदा ध्यान दिनु पर्ने कुराहरु

रामेछाप खबर संवाददाता

काठमाडौं, ६ माघ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि चिकित्सकहरुले मास्कको प्रयोगलाई अनिवार्य नै गरिदिएका छन् ।चिकित्सकहरुका अनुसार कोरोना भाइरसको खोप लगाइसकेपछि पनि मास्कको प्रयोगलाई निरन्तरता दिइरहनु पर्नेछ ।खोप लगाउनअघि त मास्कलाई नै खोपको खोपकै विकल्पको रुपमा लगाइरहनु पर्ने चिकित्सकहरुको सुझाव छ ।नेपालमा पनि कोरोनाको खोप आउने चर्चा त चलिरहेको छ, तर कहिलेदेखि लगाइने छ भन्ने कुराको टुंगो छैन ।
त्यसैले नेपालमा हरेक व्यक्तिले घरबाट बाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्नै पर्नेछ ।काठमाडौंमा घर बाहिर निस्कने अधिकांशले मास्क लगाएको देखिन्छ भने काठमाडौं बाहिर भने मास्कको प्रयोगलमा गम्भिरता अपनाएको पाईँदैन ।
हामी मास्कको प्रयोग नियमित रुपले त गरिरहेका हुन्छौं नै, तर प्रभावकारी रुपले मास्क नलगाउँदा जुन उदेश्यका लागि मास्क लगाइएको हो, त्यो पुरा नहुन सक्छ ।

मास्क लगाउँदा ध्यान दिनु पर्ने केही कुराहरु यस प्रकार छन् :

घर बाहिर कसैसंग भेट भएको बेला आफूले लगाएको मास्क खोल्नु हुँदैन । कुराकानीको क्रममा मास्कलाई तानेर चिउँडोस्म्म पनि ल्याउनु हुँदैन । मास्क लगाएरै कुराकानी गर्ने बानी बसाउनु पर्छ ।
मास्कलाई सकेसम्म पुरै नाक नै छोपिने गरी लगाउनु पर्छ ।मास्कले नाकसम्म ढाक्नुका साथै चिउँडोसम्म पनि मास्कले ढाक्नु पर्छ ।धेरै पुरानो मास्क प्रयोग गर्नु हुँदैन । मास्क पुरानो भएसंगै खुकुलो समेत हुन्छ । खुकुलो मास्कले खासै काम गर्दैन ।
मास्कलाई नाकदेखि चिउँडोसम्म नै ढाक्ने गरी लगाउनु पर्छ ।मास्क सकेसम्म टाइट हुने गरी लगाउनु पर्छ । मास्क लगाउँदा कुनै पनि छिद्र खुल्ने गरि लगाउनु हुँदैन ।

सर्जिकल मास्क प्रयोग गर्नु हुन्छ भने हरेक दिन नयाँ मास्क लगाउनु पर्छ ।मास्क लगाउँदा र खोल्दा त्यसको फित्ता अर्थात डोरीमा समात्ने बानी बसाउनु पर्छ ।मास्क लगाएर बाहिर निस्किएपछि त्यसलाई पटक-पटक चलाइरहनु अथवा छोइरहनु हुँदैन ।बजारमा विभिन्न गुणस्तरका मास्कहरु उपलब्ध छन्, यद्यपि चिकित्सकहरुले तीन लेयरको सर्जिकल मास्क नै प्रभावकारी हुने बताएका छन् ।यदि तपाईं कपडाको मास्क लगाउनु हुन्छ भने, यी कुरामा ध्यान दिनु पर्ने युनिसेफले जनाएको छ ।

कपडाको मास्क लगाउने तरिका

–मास्क च्यातिएको छ कि छैन वा सफा छ कि छैन हेर्नुपर्छ । मास्क लगाउँदा डोरीमा समाई अनुहारमा टम्म मिल्ने गरी लगाउनु पर्छ । नाक, मुख र च्युँडो ढाकिने गरी लगाउनु पर्छ । सकभर मास्कलाई हातले छुनु हुन्न । डोरी मात्र समाई मास्क फुकाल्नु पर्छ । कपडाको मास्कलाई पुन: प्रयोग गर्न मिल्छ । फुकालेको मास्कलाई सफा र सुख्खा हुने गरी राख्नु पर्छ । मास्क फुकालेपछि साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु पर्छ । प्रयोग गरेको मास्कलाई हरेक दिन साबुन पानीले धुने र घाममा सुकाउनु पर्छ एक–अर्काबाट कम्तिमा २ मिटर टाढा बस्नु पर्छ ।
बेलाबेलामा साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धोऔं । घरबाट बाहिर जाँदा अनिवार्य मास्क लगाऔं ।