होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु

रामेछाप खबर संवाददाता

नेपालगञ्ज ।

नेपालगञ्जमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, भृकुटीनगरका ७० वर्षीय पुरुषको साेमबार राति मृत्यु भएको हो।
उनलाई पुस २६ गते कोरोना पुष्टि भएको थियो । कोरोना भएपछि घरमै बसेका बृद्धलाई अक्सिजनको लेबल कम देखिएपछि २७ गते भेरी अस्पतालमा ल्याइएको थियो।

भेरीमा उपचारको क्रममा स्वास्थ्यमा सुधार आएपछि २९ गते पुनः होम आइसोलेसनमा लगिएको थियो।
बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ। जिल्लामा अहिले पनि ६१ जना होम आइसोलेसनमा बसेका छन्। भेरी अस्पतालमा ३१ जना बिरामी रहेका छन्।

ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा

ललितपुर : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । आफ्नो १९औँ साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारवाहीबाट मुक्त गरेको हो ।

अनुशासनको कारण देखाउँदै थापालाई एन्फाले गत जेठ ५ गते निलम्बन गरेको थियो । थापाले बुझाउनुभएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै एन्फाले उनलाई कारवाही गरेको हो ।

एन्फा पदाधिकारीलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै अध्यक्ष थापालाई कारवाही गर्ने निर्णय गरेको थियो । आफूमाथि गरिएको कारवाहीका विरुद्ध थापाले राष्ट्रिय खेलकूद परिषद् (राखेप), विश्व फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) मा समेत उजुरी दिएका थिए। एन्फाका महासचिव इन्द्रमान तुलाधरले साधारणसभासम्मका लागि मात्र थापालाई निलम्बन गरिएको जानकारी दिए।

एन्फाको साधारणसभा मंगलबारदेखि सुरु भएको छ । एन्फाले मनाङ, खोटाङ र नवलपरासी पूर्वलाई आफ्नो सदस्यता प्रदान गर्नका लागि साधारणसभामा प्रस्ताव प्रस्तुत गरेको छ ।

साधारणसभाले सो प्रस्ताव पारित गरेमा एन्फाको सदस्य प्राप्त गर्ने जिल्लाको सङ्ख्या ४८ पुग्नेछ । यस्तै कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा गठन गरिएको तदर्थ समितिलाई समेत एन्फाले मान्यता दिने निर्णय गरेको छ ।रासस