एक्कासी बढ्यो दैनिक उपभोग्य सामानको मूल्य वृद्धि

रामेछाप खबर संवाददाता

काठमाडौं, ६ माघ ।

यतिबेला मुलुकमा राजनीतिक अस्थिरता बढेर गएको छ ।

राजनीतिक अस्थिरताको फाइदा मुलुकका केहि ठूला व्यापारीले उठाइरहेका छन् ।जनताका दैनिक उपभोग्य बस्तुमा अप्रत्यासित रूपमा मूल्य बृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।मूल्य बृद्धिले जनताको ढाड सेक्ने काम भएको छ ।उपभोक्ताको चुलोमा दैनिक प्रयोग हुने चामल, तेल, दाल, पिठो, अण्डा लगायत निर्माण सामग्रीका वस्तुमा मूल्यदर एकाएक आकासिएको छ ।

ठूला व्यापारीले सामान लुकाएर हो या बजारमा अभाव भएर हो त्यो कुरा अझै आम उपभोक्ताले बुझ्न सकेका छैनन् ।जसले गर्दा दुर्गम क्षेत्रका उपभोक्ताहरु बढी मूल्य तिरेर पनि सामान पाउन सकिरहेका छैनन् ।
सरोकारवाला सरकारी निकाय र उपभोक्तावादी संघ सस्थाहरुले प्रभावकारी रुपमा बजार अनुगमन गर्न नसक्दा मूल्यवृद्धि हुन गइरहेको देखिन्छ ।

व्यापारीको मनलागी र सरोकारवाला निकाय मुकदर्शक हुनुको परिणाम यसको मूल कारण हो ।देशमा जब राजनीतिक अस्थिरता बढ्दै जान्छ तब बजार भाउ ह्वात्तै बढेको देखिन्छ ।त्यसको मारमा भने आमउपभोक्ता पर्दछन् ।यो महँगी बढ्नु भनेको देशको अस्थिर राजनीतिक अवस्था हो ।बजारमा व्यवसायीले आफू खुसी मूल्य तोकेका छन् ।यस्तो बेथिति बढ्दा पनि सरकारी निकाय र अन्य उपभोक्तावादी संघ संस्थाको भूमिका खासै प्रभावकारी देखिएन ।

महँगी बढ्नुको कारण आम उपभोक्ताले जानकारी पाउनुपर्छ ।तर, उपभोक्तालाई थाहा नदिइ हरेक वस्तुमा मूल्यवृद्धिको साथै बजारमा सामानको कृत्रिम अभाव सिर्जना गरिएको छ ।बजारमा हरेक वस्तुको मूल्य अत्यधिक रूपमै बढ्नुको खास कारण भने खुलेको छैन ।
बजार स्वतन्त्र र प्रतिस्पर्धात्मक नहुनुको कारणले पनि मनपरी भाऊ बढेको हुनसक्छ ।व्यापारीले तोकेको मुल्य तिर्न आम उपभोक्ता बाध्य छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग यति बेला मौन छ ।उपभोक्ता अधिकारवादी पनि मूल्यवृद्धिविरुद्ध बोलेका छैनन् ।अहिलेको बजार मूल्यमा एकरूपता नहुँदा उपभोक्ता ठगिएका छन् भने अर्कोतिर गुणस्तरहीन सामान खरिद गर्न पनि बाध्य छन् ।अहिले बजार अनियन्त्रित र असामान्य छ ।निश्चित दरभाउ कुनै पनि सामानको छैन ।बजारमा ठगीधन्दा मौलाउँदै गएको छ ।अस्वाभाविक रुपमा बढ्दै गएको मुल्य अनुगमन गरी आम उपभोक्तालाई राहत दिनु पर्छ ।