यी हुन् ओलीका ठुला फ्यान जस्ले खोपे ओलीको ट्याटु पाखुरामा

रामेछाप खबर संवाददाता


एक युवाले प्रधानमन्त्री केपी शर्मा ओलीको ट्याटु आफ्नो पाखुरामा खोपाएका छन् । ती युवा धादिङका विक्रमजंग राना हुन् । उनको ट्याटु अहिले सबैतिर सामाजिक सञ्जालमा सेयर भै रहेको छ । रानाको स्थायी घर धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नम्बर ९ हो । उनी आफूलाई नेकपाका एक जना सामान्य कार्यकर्ता भनेर चिनाउन चाहन्छन् । उनले प्रधानमन्त्री ओलीको तस्बीर अंकित ट्याटु खोपाएका हुन् । रानाले काठमाडौँको कालीमाटीको एउटा ट्याटु सेन्टरमा गएर प्रधानमन्त्रीको तस्बीरको ट्याटु खोपेको बताए । उनले आफ्नो ट्याटु देखेर धेरैले सकारात्मक प्रतिक्रिया दिएको र अन्य युवाहरु पनि ट्याटु खोप्ने इच्छुक रहेको उनले बताए ।

प्रचण्ड-माधवलाई कित्ता क्लियर गर्न बाबुरामको सुझाव : ओलीलाई कारबाही नगरेकामा आश्‍चर्य

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई कित्ता क्लियर गर्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले नेकपाको विवादले देश दुर्घटनाको संघारमा पुगेको भन्दै यस्तो बेला पनि प्रचण्ड-नेपाल समूहले ओलीलाई कारबाही नगर्नु शंकास्पद भएको बताए । सांसद तथा काठमाडौं कांग्रेसका पूर्वसभापति भीमसेनदास प्रधानले आयोजना गरेको अन्तर्क्रियामा भट्टराईले प्रतिनिधिसभा विघटनमा ओली विदेशी शक्तिको प्रभावमा परेको भन्दै त्यस्तो बुझेर पनि कारबाही नहुनुलाई सन्देहास्पद भनेका हुन् ।

“केपी ओलीलाई किन पार्टीबाट अझै निकाल्नु हुन्न ? तपाईंहरूले कित्ता क्लियर गर्नुस्,” भट्टराईले भने, “तपाईंहरू अझै पनि सत्तामा जान खोजिरहनुभएको त होइन ? हामीलाई मात्र होइन यसमा कांग्रेसलाई पनि आशंका छ ।” उनले प्रचण्डको बोलीको भर नहुने भन्दै उनीमाथि विश्वास पनि गर्न नसकिने बताए ।

“प्रचण्डले बिहान बोलेको कुरा बेलुकी सम्झनुहुन्न, त्यसैले उहाँको भर पनि हुन्न,’ भट्टराईले भने । उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै शान्तिपूर्ण आन्दोलनमा पनि रहेको बताए ।

“अदालतबाट प्रतिनिधिसभा पुन:स्थापना नहुने र बाहिरी हस्तक्षेप बढ्दै जाने हो भने हातमा दही जमाएर बस्न सकिँदैन,” उनले भने, “बाहिरी हस्तक्षेप भए रामनाम जपेर बस्दैनौं । त्यस्तो स्थिति नआओस् ।”

प्रतिनिधिसभा पुन:स्थापनाका लागि संयुक्त आन्दोलन गर्न उनले प्रस्ताव गरे । कांग्रेसले आन्दोलनको नेतृत्व गर्नुपर्नेमा ढुलमुले नीति लिएको उनको आरोप छ । “चुनाव भइहाल्छ, लोकतान्त्रिक पार्टी चुनावबाट कहाँ भाग्ने भनेर नेपाली कांग्रेसले भनिरहेको छ । यो चुनाव हुनेवाला छैन,” कांग्रेसलाई आन्दोलनमा आउन प्रोत्साहित गर्दै भने, “पहिले संविधान ट्र्याकमा ल्याउनुपर्‍यो । त्यसपछि लाभ लिने त कांग्रेसले नै हो ।”

उनले जसपा आन्दोलनमा रहेको भन्दै कांग्रेस र प्रचण्ड-माधव समूहलाई संयुक्त आन्दोलनका लागि आग्रह गरे । “कांग्रेसले ढुलमुले नीति छाडोस् र प्रचण्ड-नेपाल समूहले पनि कित्ता क्लियर गरुन्,” उनले भने, “ जसपा आन्दोलनमै छ । संयुक्त आन्दोलन गरौं ।”

सर्वोच्चबाट संविधानका धारामा टेकेर मात्र फैसला नआउने सक्ने भन्दै उनले त्यसविरुद्ध संविधानरक्षाका लागि संघर्षकै बाटो रोज्नुपर्ने बताए । “सर्वोच्चले पुन:स्थापना गरिदिए समस्या त्यही समाधान हुन्थ्यो । तर, त्यस्तो हुन्छ भनेर ढुक्क भएर बस्न सक्ने अवस्था छैन,” भट्टराईले भने, “न्यायाधीश भनेका पनि मानिस नै हुन् । ओलीले जसरी धम्क्याइरहेका छन् त्यसले सेटिङ छ, भन्ने देखाउँछ ।” अदालतसमेत सेटिङबाट प्रभावित हुने अवस्था आयो भने संघर्षबाहेक अर्को बाटोबाट लोकतन्त्रको रक्षा नहुने भट्टराईको दाबी छ ।