प्रधानमन्त्रीलाई योगेशको जवाफ- तपाईंको स्तर थाहा पाएँ, खुसी लाग्यो

रामेछाप खबर संवाददाता

काठमाडौं, ४ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केटो भनेर व्यंग्य गरेपछि पूर्वपर्यटन मन्त्री तथा नेकपाको प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले जवाफ फर्काएका छन्।
शनिबार प्रदेश १ का नेता तथा कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योगेशको नाम नलिई आफूले दौडादौड गरेर मन्त्री बनाउँछु भनेर उनका लागि भोट मागेको बताएका थिए।

‘अनि जितेर आएपछि मन्त्री पनि बनाएँ। एक दिन पुक्क लात्ताले हानेर भाग्यो। को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ,’ प्रधानमन्त्री ओलीले भने।

ओली क्याबिनेटमा पर्यटन मन्त्री रहेका भट्टराईले पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सामूहिक राजीनामा दिएका थिए।

प्रधानमन्त्री ओलीले योगेशजस्ता युवा गए पनि आफ्नो पार्टीमा युवाहरूको कुनै कमी नरहेको बताए। उनले भ्रममा परेकालाई भ्रममुक्त गरेर र अरू युवालाई ल्याएर पार्टी मजबुद् बनाउने बताए।

प्रधानमन्त्री ओलीले आफूलाई केटो भनेपछि भट्टराईले शनिबार राति ट्वीटमार्फत् जवाफ फर्काएका हुन्। उनले पनि प्रधानमन्त्रीको नाम भने लिएका छैनन्।

‘केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो। केटो भनिपाउँदा मलाई दु:ख छैन। तपाईंको स्तर थाहा पाएँ, खुसी लाग्यो,’ भट्टराईले लेखेका छन्।

२०७४ सालको प्रतिनिधि सभा चुनावमा ताप्लेजुङमा उम्मेदवार भएका भट्टराईको चुनावी सभामा ओलीले सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा ओलीले भट्टराईलाई जनताले जिताएर पठाए आफूले मन्त्री बनाएर पठाउने बताएका थिए।

ओलीले सुरूमा भने भट्टराईलाई मन्त्री बनाएका थिएनन्। तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएको लामो समयपछि मन्त्रीमण्डल पुनर्गठन हुँदा भट्टराईलाई मन्त्री बनाइएको थियो।

भट्टराई तत्कालीन एमालेमा माधवकुमार नेपाल समूहमा थिए।