दाहाल-नेपाल समूहको निर्णयः ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने

रामेछाप खबर संवाददाता

काठमाडौँ, ३ माघ ।

नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहले केपी शर्मा ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। नेपाल–दाहाल समूहको शुक्रबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी साधारण सदस्यताबाट पनि हटाउने गरी कारबाही प्रक्रिया अगाडि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन र पार्टीमा अनुशासनहीन काम गरेकाले उनलाई स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए। पार्टी विधानमा कुनै पनि सदस्यलाई कारबाही गर्नुअघि स्पष्टीकरण सोध्ने र सफाइको मौका दिने व्यवस्था छ। ओलीलाई स्पष्टीकरण सोधेर पार्टीको साधारण सदस्यबाट हटाउने तयारी नेपाल–दाहाल समूहको छ। विधानको व्यवस्थाअनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको रावलले बताए।

यसअघि पुस ७ गते बसेको नेपाल–दाहाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टीको अध्यक्षबाट हटाएर सो पदमा माधवकुमार नेपाललाई चयन गरेको थियो। ‘पार्टी सदस्यताबाट पनि किन निष्कासन नगर्ने भनेर उहाँ (ओली) सँग पहिला स्पष्टीकरण माग गर्ने निर्णय भएको छ, त्यसपछि मात्रै अर्को कारबाहीको प्रक्रिया सुरु हुन्छ,’ रावलले भने। नेकपाको अन्तरिम विधानको धारा ५६ मा अनुशासनको कारबाही प्रक्रियाबारे उल्लेख छ। सो धाराको (क) मा पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टीभित्र गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय उल्लंघन गरेको, पार्टीप्रति निष्ठा र विश्वास नरहेको, गोपनीयता भंग गरेको अवस्थामा कारबाही गर्ने व्यवस्था छ।

यसबाहेक केन्द्र तथा प्रदेश सरकार, स्थानीय तह र जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको कुनै पनि जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत काम गरेमा अनुशासनको कारबाही गर्न सकिने विधानमा उल्लेख छ। सोही धाराको (ख) मा अनुशासनात्मक कारबाही र कारबाही प्रक्रियाबारे व्यवस्था छ। धारा ५६ (क) मा उल्लिखित क्रियाकलाप गरेबापत त्यसको प्रकृति र परिणाम हेरी सदस्यको हकमा सम्बन्धित कमिटीले आलोचना गर्ने वा लिखित रूपमा आत्मालोचना गराउने वा चेतावनी दिने वा पद वा सदस्यताबाट निलम्बन वा निष्कासन गर्नेसम्मको कारबाही गर्न सकिने व्यवस्थाअन्तर्गत ओलीलाई स्पष्टीकरण सोधिने बताइएको छ।

बैठकले ओली समूहमा रहेका महासचिव विष्णु पौडेललाई जिम्मेवारीबाट हटाउने निर्णय पनि गरेको छ। यसैगरी बैठकले प्रदेश १ का अध्यक्ष घनेन्द्र बस्नेत तथा सहइन्चार्ज जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई, जयन्ती राई, राम कार्की, पदम राई र पेसल खतिवडालाई तोकेको छ। प्रदेश १ का इन्चार्ज भीम आचार्य छन्। बैठकमा सबै प्रदेशबाट पार्टीको रिपोर्टिङ लिइएको थियो। नागरिक दैनिकमा समाचार छ ।