स्न्यापच्याटले पनि राष्ट्रपति ट्रम्पको अकाउन्टमाथि लगायो सधैँका लागि प्रतिबन्ध

रामेछाप खबर संवाददाता

सीएनएन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म स्न्यापच्याटले पनि सधैँका लागि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

कम्पनीका प्रवक्ताले भनेका छन्, “गत हप्ता नै ट्रम्पलाई अनिश्चितकालका लागि स्न्यापच्याटबाट हटाउनु सबैको दीर्घकालीन हितमा हुनेबारे छलफल भइरहेको थियो । त्यसैले जनसुरक्षालाई मध्यनजरमा राख्दै अनि समाजमा गलत सूचना फैलाइ हिंसा भड्काउनेजस्ता व्यवहारले स्न्यापच्याटको नीति स्पष्टरुपमा उल्लंघन गरेका हुनाले उनको अकाउन्ट सधैँका लागि प्रतिबन्धित गर्ने अन्तिम निर्णय भएको हो ।”

गत साता अमेरिकी संसद् भवनमा भएको हिंसात्मक प्रदर्शनपछि सबै प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरु अहिले बाइडेनको शपथग्रहण कार्यक्रमअघि अनुपयुक्त सामग्री हटाउनमा तीव्ररुपले लागिपरिरहेका छन् ।

गत हप्ता फेसबुकले पनि ट्रम्पलाई उनको बाँकी रहेको कार्यकाल अवधिभरि पोस्ट गर्न निषेध गर्ने घोषणा गरेको थियो ।

यता, ट्वीटरले पनि बारम्बारको चेतावनीपछि अन्ततः उनको अकाउन्ट सधैँका लागि हटाइदिने निर्णय सुनाएको हो ।

युट्युबले चाहिँ कम्तीमा पनि अबको एक हप्तासम्म ट्रम्पको च्यानल प्रतिबन्धित गरिने बताएको छ । जसले कम्पनीका विभिन्न नीति–नियमहरु उल्लंघन गरेको युट्युबको ठहर छ ।