राजनीतिमा मात्रै देख्न पाइने रमाइलो

रामेछाप खबर संवाददाता

काठमाडाैं, २ माघ ।

राजनीतिमा ‘समय’ भन्ने चिज कस्तो हुँदोरहेछ भने, हिजो उछित्तो काढेर हिँडेकाहरु आज लपक्कै मिलेका छन् । हिजो लपक्क मिलेकाहरु आज सत्तोसराप गर्दै हिँडेका छन् ।

०७२ सालमा संविधान जारी हुँदा त्यसको मस्यौदा जलाएर आन्दोलनमा निस्किए, मधेसी दलहरु । त्यतिबेला सीमा नाकामा धर्ना बसेर संविधान खारेजीको माग गर्थे । अहिले उनीहरुको पार्टीको नाम छ, जनता समाजवादी । त्यो पार्टी आज यही संविधानको रक्षार्थ आन्दोलनमा छ ।

सर्वोच्च अदालतमा संविधान विघटन सही हो भनेर बहश गर्ने, अर्थात् प्रधानमन्त्रीपक्षीय वकिलको नाम सुन्दा यस्तै बुझिन्छ । गत वर्ष प्रधानमन्त्रीले मिर्गौला फेर्दा अवैध किसिमले फेरियो, कानुन मिचियो भनेर मुद्दा हाल्ने र आजीवन सत्तोसराप गर्ने राजावादी वकिल सुरेन्द्र भण्डारी अहिले केपी ओलीको वकिल बनेर अदालतमा देखा पर्दैछन् । अनि, देउवा निकट अधिवक्ताहरु खम्बबहादुर खाती र विजय मिश्रहरु पनि सरकारकै पक्षबाट बहस गर्दैछन् ।

अधिवक्ता सुरेन्द्र भण्डारीमात्रै हैन, संघीयताको विरोध, हिन्दू राज्य र राजसंस्थाको पक्षमा वकालत गर्ने वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीहरु भने केपी ओलीको समर्थनमा छन्, आजीवन केपीपक्षीय भनेर चिनिएका अर्का वरिष्ठ पत्रकार शम्भु श्रेष्ठचाहिँ यो कदमको विरोधमा उभिएका छन् † प्रचण्डलाई १७ हजारको रगत खाने भनेर केपीपक्षीय युवाहरु सराप्ने गर्छन् । तर, त्यही जनयुद्धका भरपर्दा कमाण्डरहरु रामबहादुर थापा (बादल), कालीबहादुर खाम, बालकृष्ण ढुंगेलहरु अहिले केपीकै पक्षबाट ठाउँ ठाउँमा भाषण गर्दै हिँडेका छन् ।

उता, जानकारहरु भन्छन्, संसद पुनर्स्थापना भएन नै भने पनि वैशाखमा चुनाव हुँदैन । अर्थात्, गर्नलाई हैन, केही–केही कुरा छल्नलाई प्रधानमन्त्री चुनाव–चुनाव भनिरहनुभएको छ ।

मंसिरमा चुनाव गर्ने भनेपछि पार्टीको महाधिवेशन गर्नु परेन । त्यसपछि स्थानीय चुनावको तयारी शुरु गर्नुपर्ने हुन्छ । उसै त अदालतले पेशी सार्दै मुद्दा ढिलो गराइरहेको छ । विगतमा कस्तो पनि देखियो भने, ०७० को सरकारका अध्यक्ष तथा तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीले चुनाव गराउनुभयो । अनि, सरकारमा उहाँको नियुक्तिविरुद्ध परेको मुद्दा पनि चुनाव सकिएसँगै बल्लतल्ल सकियो । प्रधानसेनापति नहुँदै रुक्माङ्द कटवालको उमेर विवादसम्बन्धी मुद्दा पर्‍यो । उहाँ पदबाट हटिसकेपछि बल्ल रिट खारेज भयो । त्यसअघि दुईतारे जर्नेल प्रदीपप्रताप बम मल्ल र प्रेमप्रकाश थापा मगर प्रधानसेनापति हुने लाइनमा हुनुहुन्थ्यो । अवकास भएपछि मात्रै मुद्दाको टुंगो लाग्यो । अहिले पनि यस्तै होला भन्ने प्रधानमन्त्रीको बुझाई छ ।