छोरी कुर्दै बित्यो १६ वर्ष

रामेछाप खबर संवाददाता

काठमाडाैं, २ माघ ।

घरकी ठूली छोरी इन्द्रकुमारी राई सबैकी प्यारी थिइन्। हतुवागढी गाउँपालिका–४ खैराङकी राई एसएलसी परीक्षाको तयारीमा थिइन्। माघको चिसो मौसममा हरेक बिहान ट्युसन पढ्न जान्थिन्।

सधैंजसो २०५९ माघ ६ गते पनि इन्द्रकुमारी घरबाट ट्युसन पढ्न हिँडिन्। तर, त्यो दिन साँझसम्म उनी घर फर्किनन्। घरपरिवारले साथीको घर गएको ठाने। साँझसम्म पनि घर नफर्केपछि सोधपुछ भयो। गाउँभरि खैलाबैला मच्चियो तर इन्द्रकुमारीको केही पत्तो लागेन। वृद्ध बाबु हैकमसिंह राई र परिवारले छटपटीमै रात बिताए।

भोलिपल्ट बिहानै गाउँबस्तीका प्रत्येक घर, गोठ, भीरपाखा, वनजंगलमा खोजी भयो तर कुनै पत्तो लागेन। देशमा संक्रमणकाल भएकाले होहल्ला गर्दै जथाभावी खोज्ने अवस्था पनि थिएन। तत्कालीन माओवादी र सेनाको संघर्षले गाउँमा त्रास थियो। यस्तो घडीमा पनि हैकमसिंह र परिवारले छोरी खोज्न छोडेनन्। जिल्ला प्रहरी, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, माइती नेपाललगायत विभिन्न निकायसम्म हारगुहार गरे। यही क्रममा २०६४ मा जिल्ला अदालत पनि धाए हैकमसिंह र छोरा रमेश (इन्द्रकुमारीकी दाजु) तर कुनै पत्तो लागेन। केही पत्ता नलागे पनि छोरी जीवितै छिन् भन्ने झिनो आस मरेको थिएन, हैकमसिंह र उनको परिवारलाई। ‘सम्झिँदा मन भक्कानिएर आउँछ, भाको एउटी प्यारी छोरी। न छोरीको सास पायौं न लास। केही पत्तो छैन’, भावुक हुँदै बाबु हैकमसिंहले भने, ‘मुटुको टुक्राजस्तो छोरी बाँचेकै छ जस्तो लाग्छ। मनमा आस अझै मरेको छैन।’

छोरीको मायाले बेलाबेला भक्कानिएर उनका चाउरी परेका गालामा आँसु चुहिरहन्छ। बहिनीको लास या सासको आस बुझ्न दाजु रमेश बेलाबेला दुई दिन पैदलै अदालतसम्म धाउँछन्। ‘बहिनीको अवस्था थाहापत्तो छैन। त्यै कतै बसेकी पो होलिन् कि, बाँचेकी पो होलिन् कि भन्ने मायाले सधैं तानिरहन्छ’, उनले भने। चार वर्ष लगातार इन्द्रकुमारीको खोजी भयो। घरका बाख्रा, कुखुरा, सुँगुर, धनसम्पत्ति बेचेर मान्छे लगाएर उनको खोजी भयो। उनीबारे कुनै प्रमाण फेला नपर्दा परिवार अझै छटपटीमा छ। छोरी जिउँदै भएको आशमा बाटो हेरिरहन्छन् बाबु हैकमसिंह।