अब फेरि बढ्ने भयो इन्टरनेटको मूल्य

रामेछाप खबर संवाददाता

काठमाडाैं, २ माघ ।

नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबरको मूल्य दुई गुणाले बढाएको छ । प्राधिकरणले यसअघि फाइबरमा लिदै आएको शूल्क वृद्धि गरेर दुई गुणाले बढाएको हो ।

यो सँगै अब इन्टरनेटको मुल्य बढ्ने भएको छ । प्राधिकरणले ६६ केभी र सो भन्दा माथिको भोल्टेज स्तरको प्रशारण लाइनमा जडिट फाइबर कोरको हकमा प्रति किलो मिटर प्रति वर्ष प्रतिफाइबर कोरको भाडादर बाहेक ३२ हजार लाग्ने निर्णय गरेको छ ।

यसअघि इन्टरनेट सेवा प्रदायकले यसका लागि १६ हजार ४ सय रुपैयाँ तिर्दै आएका थिए । मङ्गलबार नै प्राधिकरणले पत्र लेख्दै इन्टरनेट सेवाप्रदायकहरुलाई शुल्क वृद्धिको जानकारी गराएको हो ।

रेमिटेन्स बढ्यो, विदेश जाने घटे

कोरोना महामारीअघिको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहेको बेला रेमिटेन्स वृद्धिको क्रम जारी छ।नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिना ९साउन–मंसिरसम्म० मा रोजगारीमा विभिन्न मुलुक गएका नेपालीले चार खर्ब १६ अर्ब रूपैयाँ रेमिटेन्स पठाएका छन्। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशतले बढी हो।

केरोना महामारीका कारण गत वर्ष चैतदेखि नै वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहेको छ। रेमिटेन्स भने त्यसयता निरन्तर बढिरहेको छ। कोरोना महामारी सुरु हुनुअघि रोजगारीका लागि त्रिभुवन विमानस्थल हुँदै दैनिक १२–१५ सय युवा विदेश जाने गरेकोमा अचेल दैनिक दुई–तीन सय उड्ने गरेका छन्। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको हालसम्म श्रम स्वीकृति लिएर करिब ४० हजार वैदेशिक रोजगारीमा गएका छन्।

कोरोना महामारीले समग्र अर्थतन्त्रमा नकारात्मक असर परिरहेको बेला रेमिटेन्स वृद्धि भइरहँदा सरकारलाई सहज भइरहेको छ। बढेको रेमिटेन्सले अर्थतन्त्रका अन्य सूचक सकारात्मक भइरहन सघाइरहेको छ। विभागले असोजयता श्रम स्वीकृति दिन थालेपछि वैदेशिक रोजगारी सुचारु भएको हो। केही महिनायता वैदेशिक रोजगारी सुचारु भए पनि कोरोना महामारीअघिको तुलनामा बिदेसिनेको संख्या बढ्न सकेको छैन।

तर निरन्तर रेमिटेन्स वृद्धि भरहनुलाई धेरैले आश्चर्य मानेका छन्। वैदेशिक रोजगारीलाई सूक्ष्म रूपमा नियालिरहेका विज्ञहरू नौ महिनादेखि विदेश जानेको संख्या घटिरहँदा पनि रेमिटेन्स वृद्धि भइरहनुले विगतमा हुन्डीमार्फत ठूलो रकम भित्रिने गरेको पुष्टि हुने बताउँछन्। महामारीपछि हुन्डी कारोबार फस्टाउन नपाउँदा रेमिटेन्स बैंकिङ च्यानलमार्फत आएको सम्बद्ध अधिकारीको भनाइ छ।

कोरोना महामाीपछि गन्तव्य मुलुकबाट समस्यामा परी ठूलो संख्यामा युवा फर्कने र जसले गर्दा रेमिटेन्समा उल्लेख्य गिरावट आउने धेरैको अनुमान थियो। त्यस्तो अनुमानविपरीत अहिलेसम्म न ठूलो संख्यामा कामदार फर्किका छन्, न रेमिटेन्समा गिरावट आएको छ। विभागका अनुसार कोराना महामारीपछि वैदेशिक रोजगारीमा गएकामध्ये करिब दुई लाख घर फर्किएका छन्। घर फर्किएकामध्ये कति रोजगारी गुमाएर र कति नियमित प्रक्रियाअन्तर्गत फर्किएका हुन् भन्ने यकिन छैन। समीक्षा अवधिमा श्रम स्वीकृति लिनेको संख्या भने ७७.९ प्रतिशतले घटेको छ। त्यस्तै पुनः श्रमस्वीकृति लिएर जाने नेपालीको संख्या ६९.४ प्रतिशतले घटेको छ। नागरिक दैनिकबाट