यसरी लगाउदैछन् प्रधानमन्त्री ओलीले संकटकाल ?

रामेछाप खबर संवाददाता

काठमाडौं ।

प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संकटकाल लगाउन लागिएको आशंका गरिएको छ । कतिपय व्यक्तिले प्रधानमन्त्री ओलीले संकटकाल लगाउन सक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।

राजनीतिक संक्रमणकालको अवस्था सृजना भए पनि प्रधानमन्त्री ओलीले यथास्थितिमा संकटकाल लगाउने सम्भावनालाई बालुवाटार स्रोतले इन्कार गरेको छ । मुलुककोे अखण्डता, सार्वभौमसत्ता र साम्प्रदायिक सद्भाव कायम रहेका बेला अहिले संकटकालको सम्भावनाको गुञ्जासलाई इन्कार गरिएको छ ।

प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचनको मिति घोषणा गरेका प्रधानमन्त्री ओलीले सत्ता लम्ब्याउन संकटकालको घोषणा गर्न सक्ने अभिव्यक्तिहरु सार्वजनिक भइरहेका छन् ।

विद्यमान अवस्थामा मुलुकभर वा प्रादेशिक रुपमा पनि संकटकाल लगाउने आधार देखिँदैन । तर, केही दिनयता प्रधानमन्त्री ओलीले संकटकाल लगाउन लागेको हल्ला चल्न थालेको छ ।

प्रचण्ड र माधव नेपाल भन्छन्– सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको बताएका छन् ।

माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा आज संयुक्त शुभकामना सन्देश जारी गर्दै दाहाल र नेपालले भनेका छन्, ‘नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको हो । तर, नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको छ ।’

उनीहरुले माघे संक्रान्तिको अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न आदिवासी जनजातिलगायत सम्पूर्ण जनसमुदायमा अपीलसमेत गरेका छन् ।

उनीहरुले थारु, मगर, छन्त्याल लगायतका समुदायहरुले आफ्नो मौलिकता अनुसार मनाउने माघी, माघेसंक्रान्ति र माघेसकरातीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्षको आगमनको रुपमा मनाइने यो पर्व सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर आफ्ना परिवारका सदस्यहरु माझ हर्षोल्लासपूर्वक मनाउन पनि उनीहरुले आग्रह गरेका छन् ।