यसकारण अमेरिकी राष्ट्रपति ट्रम्पको युट्युब च्यानल पनि प्रतिबन्धित

रामेछाप खबर संवाददाता

वासिङटन, २९ पुस ।

ट्वीटरले स्थायी रुपमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अकाउन्ट प्रतिबन्ध गरेको केही दिनमै युट्युब च्यानल पनि प्रतिबन्धमा परेको छ। मंगलबार युट्युबले राष्ट्रपति ट्रम्पको युट्युब च्यानलबाट हिंसा भड्किने सामग्री प्रस्तुत भएको भन्दै प्रतिबन्ध लगाएको हो।

राष्ट्रपति ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेपछि सर्वत्र आलोचना भइरहेको छ। सोही विषयलाई लिएर युट्युबले पनि उनको च्यानलमा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

ट्रम्पको च्यानललाई एक साताका लागि प्रतिबन्ध लगाइएको युट्युबले एक भनाई जारी गर्दै बताएको छ। उनको च्यानलबाट एक सातासम्म नयाँ भिडियो अपलोड गर्न र प्रत्यक्ष प्रसारण गर्न नपाउने युट्युबले जनाएको छ। प्रतिबन्धको अवधि लम्बिन सक्ने युट्युबले जनाएको छ।

एकपछि अर्को सामाजिक सञ्जाल कम्पनीहरूले राष्ट्रपति ट्रम्पको कदमविरुद्ध कडा नीति अवलम्बन गर्न थालेका हुन्।

के ट्रम्पलाई अब राजनीति गर्न नै प्रतिबन्ध लाग्ला ?

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसदमा गरेको हंगामा कारण अब पछिल्लो समय बारम्बार आवाज उठेको छ कि उनलाई तत्काल राष्ट्रपतिबाट हटाउनु पर्छ ।

यसै पनि ट्रम्पले अब २० जनवरीमा ह्वाइटहाउस छोड्नु पर्ने हुन्छ । तर, त्यसअघि नै उनीमाथि महाभियोग लगाउने तयारी भएको हो ।

अमेरिकी प्रतिनिधि सभाकी सभामुख नैन्सी पेलोसीलेसमेत ६ जनवरीमा अमेरिकी संसदमा भएको हिंसामा ट्रम्पको साथ रहेको बताएकी छिन् । यही आधारमा अब ट्रम्पमाथि राजनीतिका लागि नै प्रतिबन्ध लगाउन सकिने पनि अन्तर्राष्ट्रिय मिडियामा विश्लेषणहरु छापिन थालेका छन् ।

त्यहाँ डेमोक्रेट्सले पनि ट्रम्पमाथि प्रतिबन्ध लगाउने र भविष्यमा कुनै पनि पदका लागि उनलाई योग्य नमान्ने गरि कारवाही गर्नु पर्ने माग गरेका छन् । यही आधारमा पनि ट्रम्पमाथि प्रतिबन्ध लगाउन सकिने सम्भावना बढेको बताइएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।