नेपाललाई २ करोड ५० लाख डोज खोप दिन रुस तयार

रामेछाप खबर संवाददाता

काठमाडौं, २९ पुस ।

समाचार संस्था रोयटर्सले रुसले नेपाललाई कोरोना भाइरविरुद्धको खोप दुई करोड ५० लाख डोज उपलब्ध गराउने उल्लेख गरेको छ।
रोयटर्सले रुसको सरकारी समाचार एजेन्सी आरआइए न्यूजलाई उदृत गर्दै उक्त समाचार सार्वजनिक गरेको हो।

आरआईएले रुसको विदेश मन्त्रालयका अनुसार स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको समाचारमा उल्लेख छ।
रुसले उत्पादन गरेको स्पुतनिक भी खोप रुस, बेलारुस लगायत देशमा लगाउन थालिसकिएको छ।

स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि अघिल्लो साता नेपालका लागि रुसका राजदूतसँग भेट गरी खोप उपलब्ध गराइदिन माग गरेका थिए।

कोरोनाविरूद्धको खोप खरिदका लागि सरकारले माग्यो आर्थिक सहयोग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदका लागि रकम आवश्यक भएको भन्दै सूचना जारी गरेर आर्थिक सहयोग माग गरेको हो।

‘मन्त्रिपरिषद्को कात्तिक २४ गतेको निर्णयअनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगको लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई निःशुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक भएको’ सूचनामा उल्लेख छ।

मन्त्रालयले रकम संकलन गर्न टेकुस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको खाता नम्बर १७००१००१०२०६०००० सार्वजनिक गरेको छ।

सहयोगको लागि मन्त्रालयले दातृ निकाय, विदेशी, विभिन्न व्यावसायिक एवं सामाजिक र परोपकारी संस्था एवं फिल्यान्थ्रोपिक एसोसियसनलाई आह्वान गरेको छ।

कोषमा रकम जम्मा गर्ने दाताहरूसँग समन्वय र सहकार्य गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा हुने सूचनामा उल्लेख छ।