बाख्रा पाल्न कमलामाई आउनूस्ः हातहातै ५० प्रतिशत अनुदान

रामेछाप खबर संवाददाता

काठमाडौँ , २७ पुस ।

सिन्धुलीको कमलामाई नगरपालिकाले बाख्रापालन गर्न चाहनेलाई ५० प्रतिशत अनुदान दिने भएको छ । पालिकालाई मासुमा आत्मानिर्भर बनाउने उद्देश्यले नगरपालिकाले बाख्रापालनमा अनुदान दिने भएको हो ।

स्थानीय स्तरमै बाख्रापालन गर्दै स्वरोजगार बन्न चाहनेबाट अनुदान प्राप्त गर्न आवेदन मागिएको कमलामाई नगरपालिकाका सूचना अधिकारी निर्मल लामाले जानकारी दिए ।

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कमलामाई नगरपालिका पशु विज्ञान शाखाअन्तर्गत नगरमा बाख्राको साना व्यावसायिक कृषि उत्पादन (पकेट) विकास कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदान दिइनेछ’, लामाले भने ।

५० प्रतिशत अनुदान प्राप्त गर्न बाख्रापालन समूह, समिति, सहकारी तथा फार्महरूले फर्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा–जमिनको स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भए कम्तीमा ५ वर्षको सम्झौतापत्र उल्लेख गरी नगरपालिकामा निवेदन दिनुपर्नेछ ।

यस्तै, निवेदकको नागरिकता तथा परिचय खुल्ने प्रमाण प्रतिलिपि, कार्यसमितिको निर्णयको प्रतिलिपिसहित १२ माघभित्र नगरपालिकाको पशु शाखामा आवेदन दिनुपर्नेछ ।

बाख्रा पालनबाटै मासिक दुई लाख आम्दानी हुन्छ, किन जानु विदेश ?

पाल्पामा एक युवाले बाख्रा पालनबाट मासिक २ लाखसम्म आम्दानी गरिरहेका छन् । रिब्दिकोट गाउँपालिकाका ति युवाले लगनसिलताका साथ काम गरे गाउँमै मनग्गे आम्दानी गर्न सकिने उदाहरण दिएका छन् ।

इच्छा शक्ति हुने हो र मेहनत गर्‍यो भने सफलता जुन कुनै क्षेत्रमा पनि पाउन सकिन्छ । त्यहि इच्छा शक्तिलाई सफलतामा बदल्दै बाख्रा पालनबाट लाखौं आम्दानी गर्न सफल हुनु भएको छ- पाल्पाको रिब्दिकोट गाउँपालिका वडा न २ कन्टिपोखराका दिपक पाण्डे । स्नाकोत्तर अध्ययन गर्दै गरेका पाण्डेले आधुनिक खोर निर्माण गरि ४ वर्षदेखि बाख्रा पालिरहनु भएको छ । उहाँले अहिले ४ रोपनी क्षेत्रफलमा बनेको खोरमा २ सय साना ठुला बोयर तथा खरी जातका बाख्रा पाल्नुभएको छ । यसबाट उहाँलाई मासिक डेढदेखि दुई लाखसम्म आमदानी भइरहेको छ ।

एक करोडभन्दा बढीको लगानीमा सञ्चालन भएको बाख्रा फर्ममा अहिले ४ जनाले स्थायी रुपमा रोजगारी पाएका छन् । विभिन्न स्थानीय तहबाट पाठापाठीको माग बढ्दै गएको छ । पाण्डेलाई बिक्री गर्न भ्याइ नभ्याइ छ ।

पछिल्लो समय बाख्रापालनको साथसाथै पाण्डेले लोकल कुखुरा, हाँस पालन तथा तरकारी खेती पनि गरिरहनु भएको छ । मेहनत गर्न सके विदेशमा गई आम्दानी गर्ने पैसा स्वदेशी माटोमै कमाउन सकिने पाण्डेको विश्वास छ ।

कोरोनाका कारण पछिल्लो समय विदेशीएका युवा रोजगारी गुमाउँदै स्वदेश फर्किएका छन । यसरी आएका युवालाई पनि पाण्डेलाई जस्तै व्यवसायमा लगाउन सके मुलुकको अर्थतन्त्रमा टेवा पुग्नेछ ।