कपिल शर्मालाई किन बोलायो अपराध अनुसन्धान विभागले?

रामेछाप खबर संवाददाता

काठमाडौं, २४ पुस ।

भारतका चर्चित कमेडियन कपिल शर्मालाई मुम्बईस्थित अपराध अनुसन्धान विभाग (सिआइयू)ले बयानका लागि बोलाएको छ।
भारतीय संचारमाध्यम डिएनएका अनुसार, मुम्बईं प्रहरीले गाडी चोरी आरोपमा पक्राउ गरेका व्यक्तिका बारेमा बयान दिन कपिललाई बोलाएको हो।

प्रहरीले गाडी चोरी गर्दै स्वरूप फेरेर बेच्ने आरोपमा दीलिप छाबडिया नामका कार डिजाइनरलाई पक्राउ गरेको थियो। यिनै दीलिपविरूद्ध केही समयअघि कपिलले पनि प्रहरीमा उजुरी दिएका थिए।

कपिलले आफूलाई ‘कस्टमाइज’ गरिएको भ्यानिटी भ्यान उपलब्ध गराउन दीलिपसँग सम्झौता गरेका थिए। दीलिपले पैसा लिएर पनि समयमै भ्यान नदिएपछि कपिलले प्रहरीमा उजुरी दिएका थिए।

कपिलका अनुसार दीलिपले भ्यान बनाउन भारू ५ करोड ७० लाख लिइसकेका छन्। प्रहरीले अहिले दीलिपलाई पक्राउ गरेपछि कपिललाई साक्षीका रूपमा बयान दिन बोलाइएको हो।
कपिलले यस सम्बन्धमा मुम्बई अपराध शाखामा गएर आफ्नो बयान दिइसकेका छन्।