सुन्धाराको सार्वजनिक शौचालय देखेपछि काठमाडौंमा घर बनाउने हुटहुटी जाग्यो

रामेछाप खबर संवाददाता


२०४० सालमा हेटौँडाबाट काठमाडौँ आएको हुँ । यहाँ आएपछि अरूको जस्तै मेरो पनि काठमाडौँमा घर होओस् भन्ने चाहना थियो । तर, कोठाको भाडा तिर्नै धौ–धौ पर्ने बेला काठमाडौँमा घर होला भनेर सोचेको पनि थिइनँ । घरको सपना त ‘आकाशको फल, आँखा तरी मर जस्तै थियो ।

मैले लगभग एक दशक डेरा जीवन बिताएँ । १० वर्षमा १० भन्दा बढी ठाउँमा डेरा सरियो । म डेरा सर्दासर्दा पलङ खोल्दा र जोड्दा, सामान गाडीमा लोड–अनलोड गर्दा हत्तु हुन्थेँ । जहाँ डेरा सरेँ पनि पानीको समस्या हुन्थ्यो । त्यसबेला म एउटा अफिसमा काम गर्थें । ५ बजेपछि सबै घरतिर लाग्थे तर म भने अफिसको बाथरुमतिर नुहाउन जान्थेँ । पानी नै नभएको घरमा पनि समयमा भाडा नतिरे घरबेटीले थर्काउँथे । भाडा तिर्न नसक्दा निस्केर जा भन्थे ।

एक दिन काठमाडौँ, सुन्धारामा डुलिरहेको थिएँ । त्यहाँ एउटा सानो चिटिक्क परेको घर देखेँ । पछि थाहा पाएँ, त्यो सार्वजनिक शौचालय रहेछ । मलाई पनि त्यस्तै भए पनि काठमाडौँमा घर बनाउने हुटहुटी चल्न थाल्यो । त्यही सार्वजनिक शौचालयले मलाई घरको सपना देखायो ।

दिनरात नभनी जागिर गरेर ८० हजार रुपैयाँ जम्मा गरेँ । जग्गा किनेँ । बैँकबाट ८४ हजार रुपैयाँ ऋण लिएँ । त्यो पैसाले घरको जग हालेँ । जग त जसोतसो हालेँ तर घर ठड्याउने पैसा भएन । त्यो जग हालेको जग्गालाई ५ लाख रुपैयाँ दिने एक जना मान्छे भेटिए । जग हालिसकेको जग्गा बेचेर नैकापमा आठ आना जग्गा किनेँ । बैँकमा ऋण लिएर घर बनाएँ ।

पैसा अभावले दुई वर्षसम्म झ्यालमा सिसासमेत हाल्न सकिनँ । प्लास्टिक ठोकेर बसेँ । प्लास्टिक ठोकेर बस्दा पनि घरचाहिँ ठड्याएँ है भनेर मख्ख थिएँ । पछि विस्तारै ऋण तिर्दै गएँ । घरको तला थप्दै गएँ । झ्यालढोकामा सिसा राख्दै गएँ । अहिले घरबाहेक सिजनअनुसार तरकारी लगाउने सानो टुक्रो जग्गा पनि छ । तर, दुई दशक घरको ऋणमा चुर्लुम्मै डुब्नु पर्दाको क्षण कहालीलाग्दो छ ।

घर भएको भए के–के न होलाजस्तो लागे पनि केही नहुने रहेछ । झन् टेन्सनको भारी । कस्तो मान्छे भाडामा बस्न आउलान् भन्ने चिन्ता त छँदै छ । डेरामा हुँदा भित्ता चर्किए, पानी नआए, धारा टुटेफुटे घरबेटीलाई गुहारे पुग्थ्यो । मैले पैसा तिरेको छु भनेर भन्न पाइन्थ्यो । आफ्नो घरमा त्यसो गर्न मिलेन । प्लम्बर, इलेक्ट्रिसियन, डकर्मी, सिकर्मी सबै आफैँ बन्नु परेको छ ।
तर, आफ्नो घर हुँदा कसैको डरभर भने हुँदैन । पाहुनापाछा आउँदा होस् वा आफू कामबाट अबेर घर फर्किंदा निर्धक्क भइयो ।