प्रचण्डलाई टोपबहादुरको प्रश्न– वैद्य र विप्लवले किन छाडे ? के आशले तपाईंसँग बस्ने ?

रामेछाप खबर संवाददाता

काठमाडौं, १९ पुस ।

नेकपा स्थायी कमिटी सदस्य एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले इमान्दार कार्यकर्तालाई पाखा र अवसरवादीलाई काखा च्यापेका कारण पूर्व माओवादी खेमाले पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडेको टिप्पणी गरेका छन् ।

३३ वर्षसम्म आफैंले आफैंलाई टीका लगाउँदै अध्यक्ष बनेका कारण प्रचण्डको पार्टी खिइँदै गएको उनको भनाइ थियो ।

रुपन्देही जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई आइतवार बुटवलमा सम्बोधन गर्दै रायमाझीले प्रचण्डको पक्षमा लाग्दा कसैले आफ्नो राजनीतिक भविष्य नदेखेर नेकपाको मूलधारमा फर्केको बताएका हुन् ।

‘मोहन वैद्य (जो प्रचण्डको पनि गुरु हुनुहुन्छ) किन प्रचण्डको साथ छाड्नुभयो ? विप्लव जस्ता मान्छेले किन छाडे ? गोपाल किराँतीले किन छाडे ? अर्का स्थायी कमिटी सदस्य दाङमा गएर खेती गर्नुपर्ने अवस्था किन आयो ?’

रायमाझीले प्रश्न गरे, ‘जनयुद्ध लडेका ३० हजार सेनाका इमान्दार मान्छे कहाँ गए ? त्यहाँ बसेर कुनै आशा भएन । महाधिवेशन होला चुनिएर आउला भन्ने छैन । ३३ वर्षमा नेकपा एमालेमा पाँच–सातजना अध्यक्ष भए । उता महाधिवेशन हुने सम्भावना छैन । मैले पनि बाबुरामलाई छाडेर प्रचण्डलाई समर्थन गर्छु भनेको, अटाइनँ ।’

अध्यक्ष प्रचण्डको नजर पार्टीको कामभन्दा प्रधानमन्त्रीमा बढी गएका कारण देशमा राजनीतिक दुर्घटनाको अवस्था आएको रायमाझीले दाबी गरे ।