चुनावी प्रतिबद्धताअनुसार काम गरेर देखाउन सक्छु : मेयर शाक्य

रामेछाप खबर संवाददाता

काठमाडौं, १६ पुस ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले भत्काएका साँस्कृतिक तथा ऐतिहासिक सम्पदाको पुनर्निर्माण आफ्नो पालामा भन्दा बढी कहिल्यै नभएको बताएका छन् ।

०७२ सालको भूकम्पयता आफ्नो कार्यकालमा पुनर्निर्माणले गति लिएको उनले बताएका हुन् ।
‘यो समय काठमाडौंका मूर्त–अमूर्त सम्पदाको बचावट, पुनर्निर्माणका लागि राम्रो अवसर हो,’’ उनले भनेका छन् ।

जात्रा, पर्वलाई जीवन्न राख्न सबै गुठियारसँग समन्वय गरेर महानगरपालिका अघि बढेको उनले बताए । सेतो मच्छिन्द्रनाथलगायतका जात्राका लागि महानगरपालिकाले सहयोग गर्दै उनले उल्लेख गरे ।

‘‘हामी सम्पदा संरक्षणमा आफैँ स्रोत खर्च गर्न सक्छौँ । विवाद भएका बाहेक हामीले देखेका सबै ठाउँमा काम गर्दै आएका छौँ,’’ उनी भन्छन्, ‘‘चुनावी प्रतिबद्धताअनुसार काम गरेर देखाउन सक्छु । त्यसका लागि तयार छु ।’

विभिन्न अवरोधका बीच वर्षौँदेखि अन्योलमा रहेको दरबार हाइस्कुल निर्माण सम्पन्न गरेको र रानीपोखरीको प्राकृतिक सौन्दर्य झल्काएको उनले सुनाए ।

महानगरमा निर्वाचित भएर आएपछि धेरै काम सम्पन्न गरेको भन्दै शाक्यले केही प्रतिबद्धता व्यक्त गरेका काम अघि बढाउन नसकेको स्वीकार पनि गरेका छन् ।

‘‘त्योमध्ये एक हो, मोनोरेल । चक्रपथमा मोनोरेल चलाउने भनेका थियौँ । चक्रपथ विस्तार भइनसकेकाले त्यो काम गर्न सकेनौँ,’’ उनी भन्छन्, ‘‘धरहरा बनाउने भनेका थियौँ । धरहरा निर्माण अन्तिम चरणमा पुगेको छ । दरबार हाइस्कुलको काम सम्पन्न भयो । काष्ठमण्डप निर्माण सम्पन्नको चरणमा छ ।’’

चुनावअघिको काठमाडौंको बाटो र अहिलेको बाटोमा धेरै फरक आएको उनको दाबी छ । अधिकांश ठाउँमा ढलान गर्ने, ढुंगा छाप्ने काम सम्पन्न भएको उनले बताए । धुलो, हिलो धेरै हदसम्म नियन्त्रण भए पनि अहिले मेलम्ची खानेपानीका कारण केही समस्या भएको उनको तर्क छ ।