कहिलेसम्म खेल्छन् रोनाल्डो ? दिए यस्तो प्रतिकृया

रामेछाप खबर संवाददाता

काठमाडौं, १६ पुस ।

विश्वका महानतम फूटबलरमध्येका एक क्रिस्टियानो रोनाल्डो आउँदो फेब्रुअरीमा ३६ वर्षका हुनेछन् ।

युभेन्टस क्लब र पोर्चुगलका सुपरस्टारले हालै एक अन्तर्वार्तामा भने, ‘म अहिले पनि राम्रो अनुभव गरिरहेको छु । फुर्तिलो छु र जीवनको राम्रो चरण चलिरहेको छ ।’

उनले थपे, ‘म अझै थुप्रै वर्ष खेल्ने आशा छ । तर भविष्यमा के हुन्छ कसले भन्न सक्छ र ?’
युभेन्टससँग रोनाल्डोको सम्झौता सन् २०२२ मा सकिँदैछ । त्यसपछि पनि उनले संन्यास लिने योजना छैन ।

रोनाल्डोले भने, ‘तपाईंलाई खेल्ने प्रेरणा प्राप्त भइरहन्छ भने संन्यास छिट्टै लिनुपर्छ भन्ने छैन । म युवाहरूलाई पनि क्षणको आनन्द उठाउनका लागि सल्लाह दिइरहेको हुन्छु किनकि भोलि के हुन्छ कसैलाई थाहा छैन ।’

विश्वकप जित्ने रोनाल्डोको सपना

पोर्चुगलका तथा युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले अझै धेरै वर्ष फुटबल खेललाई निरन्तरता दिने आशा राखेका छन् । र, विश्वकप जित्नु उनको ड्रिम रहेको छ ।

पाँच पटकको बालोन डे ओर विजेता रोनाल्डो यस सिजन सिरी ए मा सर्वाधिक गोलकर्ताको रुपमा छन् । यद्यपि साविक विजेता युभेन्ट्स भने शीर्ष स्थानको एसी मिलानभन्दा १० अंकलेपछि रहँदै छैटौं स्थानमा छ ।

३५ वर्षीय रोनाल्डोलाई अन्तर्राष्ट्रियस्तरमा कीर्तिमानी १०९ गोल गरेका इरानका अली दाईको कीर्तिमान बराबरी गर्न ७ गोल आवश्यक छ ।

‘उमेरले कुनै असर गर्दैन । महत्वपूर्ण भनेको मन हो,’ रोनाल्डोले भने , ‘यदि क्रिस्टियानो रोनाल्डले राम्रो छ भने त्यसले असर गर्दैन । तपाईंलाई थाहा छैन भोलि के हुनेछ । म वर्तमान अवस्थामा बाँच्छु ।’

‘यो क्षण राम्रो छ । म खुसी छु । मेरो जीवनमा मैले राम्रो अनुभव गरेको छु । मैले अझ धेरै वर्ष खेल्ने मेरो आशा छ तर तपाईंलाई केही थाहा हुँदैन,’ उनले भने, ‘यो फुटबल हो । भोलि के हुँदैछ हामीलाई थाहा हुँदैन । जब म युवाहरुसँग कुरा गर्छु म उनीहरुलाई यो क्षणमा रमाइलो गर्नुस् भन्छु किनकि हामीलाई थाहा हुँदैछ के हुनेछ भनेर । मेरो आँखाले भविष्य धेरै राम्रो देखेको छ । त्यसैले म यसमा खुसी छु ।’

रोनाल्डोले आफ्नो करियर पोर्चुगिज क्लब स्पोर्टिङबाट सुरु गरेका थिए । जहा उनले सन् २००२ देखि २००३ सम्म ३१ खेल खेले । त्यसपछि उनी १८ वर्षको उमेरमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड पुगे । युनाइटेडमा ६ वर्ष बिताउँदा उनले २९२ खेल खेले । त्यसपछि सन् २००९ मा उनी स्पानिस क्लब रियल मड्रिड पुगे । २०१८ सम्म रियलमा खेलेर उनी इटालियन क्लब युभेन्ट्स गएका थिए ।

सन् २०१६ मा रोनाल्डोले पोर्चुगलका लागि युरो कप जिते । रोनाल्डोले अब आफ्नो ड्रिम विश्वकप भएको बताएका छन् । सन् २०२२ मा कतारमा फिफा विश्वकप हुँदा रोनाल्डो ३७ वर्ष हुनेछन् । उनले विश्वकपमा पोर्चुगलको सम्भावना रहेको समेत बताएका छन् ।

उनी २०२० मा स्थगित भएको युरोपकपमा पनि विभिन्न कीर्तिमान नजिक छन् । तर उनको सम्भावित उपलब्धि हेर्न दर्शकहरु स्टेडियमा प्रवेश पाउँछन् पाउँदैनन् निश्चित छैन ।

‘मलाई दर्शकविना स्टेडियममा खेल्न मन पर्दैन । यो सर्कस जस्तै हुन्छ तर तपाईं जोकर देख्नुहुन्न,’ रोनाल्डोले भने, ‘यस महामारीले मानिसहरूलाई बौलाहा बनाएको छ । मलाई आशा छ कि चाँडै उनीहरूले स्टेडियमको ढोका खोल्न सक्नेछन् । हामीले यससँगै बाँच्नु पर्छ, हामीले सामान्य जीवनको लागि प्रयास गर्नुपर्दछ तर नि:सन्देह हामीले नियमहरूको सम्मान गर्नुपर्दछ । तर फ्यानहरु बिना खेल्नु, मलाई यो वास्तवमै मनपर्दैन ।’

बीबीसी

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।