घट्यो सुनको मूल्य, कति छ आजको बजारभाउ ?

रामेछाप खबर संवाददाता

काठमाडौँ, १६ पुस ।

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन बुधबार भने प्रतितोला रु ९२ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९१ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतितोला रु ९१ हजार ९५० मा बुधबार कारोवार भएको तेजाबी सुनसमेत तोलामा रु १०० ले घटेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार र आजसमेत प्रतितोला रु एक हजार २०० मा कारोवार भएको छ । रासस

‘निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर हो ‘

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताउनुभएको छ ।

कास्की पोखराको सराङकोटमा सोमबारदेखि सुरुभएको आइएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य विषयक अन्तर्क्रिया कार्यक्रममा ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यावसायीक पार्टनरको रुपमा नहेरेसम्म देशमा व्यावसायीक वातावरण बन्न नसक्ने बताउनुभएको हाे ।

आइएमई ग्रुपका अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्न निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताउनुभएको हो ।

कोभिड–१९ को सबैभन्दा ठूलो असर व्यवसाय क्षेत्रमा परेको बताउँदै ढकालले कोभिड–१९ ले प्रभाव पारेको अर्थतन्त्रलाई लयमा ल्याउन राज्यले विशेष कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताउनुभयो ।

उहाँले सरकारले ल्याएको राहत अपुरो भएको टिप्पणी गर्दै राहत सम्बन्धित व्यवसायीहरुले समेत पाउन नसकेको बताउनुभयो । मौद्रिक नीति तथा बजेट आउँदा कोभिडको अहिलेको अवस्थालाई परिकल्पना नगरिएको बताउँदै उहाँले अहिलेका समस्याहरु सम्बोधन गर्नका लागि बजेट तथा मौद्रिक नीतिको पुनरावलोकन गर्नुपर्ने जोड पनि गर्नुभयो ।

उहाँले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सर्वप्रथम कोभिडबाट प्रभावित व्यवसायलाई पुरानै लयमा ल्याउन जरुरी रहेको बताउँदै यसका लागि राज्यले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

कोभिड–१९ को महामारीले नयाँ नयाँ व्यवसायहरुको अवसर पनि सिर्जना गरेको बताउँदै उहाँले यसले डिजिटल इकोनोमिको अवसर सिर्जना गरेको बताउनुभयो । सोमबारदेखि सुरु भएको नवौं आइएमई लिटरेचर फेस्टिभल बुधबार सम्पन्न हुँदैछ ।