यसकारण आज काठमाडौंमा वर्षकै बढी चिसो : न्यूनतम तापक्रम १.३ डिग्री

रामेछाप खबर संवाददाता

काठमाडाैँ, ११ पुस ।

काठमाडौं उपत्यकामा शनिबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ। शुक्रबार न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो।

अबको केही दिन देशभरको तापक्रम निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए। ‘राति आकाश खुला भए बिहानको तापक्रम घट्ने र राति बदली भए तापक्रम बढ्ने हुन्छ’, उनले भने। यस वर्ष काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान रहेको छ।

विभागले सूचना जारी गर्दै चिसो रहरिहने तथा तराई-पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु-कुहिरोका कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

विभागको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ४ डिग्री र सबैभन्दा धेरै धनकुटाको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस रहेको छ।