नगद छैन ? अब यसरी पाइन्छ तरकारी

रामेछाप खबर संवाददाता

काठमाडौं, १० पुस ।

केतपाई काठमाडौँको नक्सालस्थित तरकारी तथा फलफूल बजारमा तरकारी तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले अब पैसा नबोकिनकनै गए पनि हुन्छ । पैसा बोक्दा चोरी हुने, हराउने तथा खुद्रा नभएर तपाईलाई कुनै समस्या पर्ने छैन किनकी केन्द्रीय बैंकले सो तरकारी बजारमा अब क्यूआर कोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ ।

तरकारी खरिद गर्न जाँदा अब तपाईले मोबाइल मात्रै बोकेर गए हुन्छ । नेपाल राष्ट्र बैंकले अब आम सर्वसाधारणलाई सहज रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउँदै क्विक रेस्पोन्स (क्यूआर)मार्फत भुक्तानी गरे हुने व्यवस्था मिलाएको छ । नक्सालस्थित तरकारी तथा फलफूल बजारमा नेपाल राष्ट्र बैंकले नगदरहित कारोबार शुरु गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले उक्त बजारमा क्यूआर कोड भुक्तानीमार्फत तरकारी खरिद गरी यसको शुभारम्भ गरे ।

गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिअनुरूप देशव्यापी अभियानको रूपमा अगाडि बढाइने जानकारी दिए ।

समग्र अर्थतन्त्रलाई प्रविधिमैत्री तुल्याउने सन्दर्भमा क्यूआर कोडको प्रवद्र्धनले ठूलो योगदान पु¥याउने विश्वास गभर्नर अधिकारीले व्यक्त गरे ।
क्यूआर कोड भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गर्ने तयारीमा केन्द्रीय बैंक जुटेको छ । गभर्नर अधिकारीले क्विक रेस्पोन्स (क्यूआर) मार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गरिने बताए ।
पछिल्लो समय हरेक महिना ३० प्रतिशतले यस्तो कारोबार वृद्धि भइरहेको जानकारी उनले दिए ।

सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले नक्साल तरकारी बजारमा क्यूआर कोड कारोबारको शुरुआतले थप हौसला मिलेको प्रतिक्रिया दिए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।