ओलीलाई अनुशासनको कारबाहीबारे सिफारिस गरेको जानकारी

रामेछाप खबर संवाददाता

काठमाडौं, ६ पुष ।

निर्वाचन आयोग प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले कारबाहीको सिफारिस गरेको जानकारी गराएको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिस गरेको आयोगले जानकारी गराएको हो।

नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सोमबार दिउँसो आयोगको कार्यालय पुगेर अनुशासनको कारबाही सिफारिस गरेकोबारे जानकारी गराएका हुन्। मंगलबार बस्ने केन्द्रीय समितिमा कारबाहीको सिफारिसबारे प्रस्ताव लैजाने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीले भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हैसियत उपाध्यक्ष बराबरको भएकाले उनको नेतृत्वमा हुने भेला र बैठकले आफूलाई कारबाही गर्न नसक्ने बताएका छन्।

ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपाको निर्णय

सत्तारूढ नेकपाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । नेकपाको स्थायी समिति बैठकले ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको ठहर गर्दै निरंकुश र जनादेशविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठकले गरेको निर्णय अनुमोदन गर्न अनुशासनको कारबाहीको प्रस्ताव पुस ७ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने बताउनुभयो ।

बैठकले राष्ट्रपति भण्डारीले पनि असंवैधानिक कदम चाल्नु आपत्तिजनक भएको ठहर गर्दै संसद् विघटनको निर्णयलाई राजनीतिकरुपमा अस्वीकार गर्दै कानुनी उपचार खोज्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै स्थायी कमिटी बैठकले अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार आज सोमबार दिउँसो १ बजे नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ भने लगत्तैदिउँसो ३ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ ।

बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णयसमेत गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा ४५ सदस्यीय स्थायी कमिटीका आमन्त्रित ४ सहित ३१ जना उपस्थित थिए ।