गच्छादारले अझै बुझेनन् अदालतको म्याद, घर खोज्दै गएको पत्र फर्कियो

रामेछाप खबर संवाददाता

काठमाडौं, २९ मंसिर ।

तत्कालीन उप-प्रधानमन्त्रीको हैसियले बालुवाटारको सरकारी जग्गा हडप्न भूमिका खेलेको अभियोग लागेका विजयकुमार गच्छादारले अझै पनि अदालतको म्याद नबुझेको पाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको दश महिना बितिसम्दा समेत गच्छादारले अदालतबाट जारी भएको म्याद नबुझेका हुन्।

बालुवाटारको ११३ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउन भूमिका खेलेको आरोपमा गत वर्ष माघ २३ गते आयोगले गच्छादारसहित तीन पूर्वमन्त्री, तीन पूर्वसचिव सहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार सोमबारसम्म प्रतिवादीहरुमध्ये ९७ जना म्याद बुझेर अदालतमा हाजिर भइसकेका छन्।

आइतबार अदालत हाजिर भएका तत्कालीन भौतिक पूर्वाधार तथा यातायात सचिव एवं अख्तियारकै पूर्व प्रमुख आयुक्त दीप बस्नेतलाई भने विशेष अदालतले पुर्पक्ष थुनामा पठाएको छ।

अरु प्रतिवादीहरुले धरौटी र साधरण तारिखमा रिहा गरे पनि न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

बस्नेतलाई थुनामा पठाएसँगै त्यही बेला भौतिक मन्त्रालयमा उपप्रधानमन्त्री रहेका विजय गच्छारको विषयमा अदालतले कस्तो आदेश गर्छ भन्ने चासो बढेको छ। गच्छादारलाई १३ वर्षसम्म कैद सजाय र ९ करोड ६५ लाख बिगो दाबी गरी आयोगले मुद्दा लगाएको छ।

विशेष अदालतले सुनसरी दुहबी नगरपालिका वडा नम्बर-२ का स्थायी बासिन्दा गच्छादारलाई सुनसरी जिल्ला अदालतमार्फत म्याद तोमल गर्न पठाए पनि एक पटक फर्किएको र दोस्रोपटक तामेलीका लागि तोकेता गरेको प्रवक्ता पाण्डले जानकारी दिए।

उनलाई गत फागुन १९ गते विशेषबाट म्याद तोमेलीका लागि सुनसरी पठाइएको थियो। तर म्याद तामेल हुन नसकेको जानकारी आएपछि विशेषले गत कात्तिक १८ गते म्याद तामेलीका लागि ताकेता गरेको गरेको छ।

दुहबी स्थायी ठेगाना भए पनि गच्छादार हाल ललितपुरको सानेपामा बस्दै आएका छन्।

सुनसरी जिल्ला अदालतका श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलले गच्छादारको घरमा म्याद तामेल हुन नसकेको विषयमा जानकारी नभएको देश सञ्चारलाई बताए। उनले भने, ‘यो विषयमा म बुझ्छु। यो विषयमा तामिलदारसँग कुरा बुझेर मात्र प्रस्ट भन्न सक्छु।’

विशेष अदालतबाट जारी हुने म्याद १५ दिनको हुने र गुज्रेको खण्डमा थप १५ दिन थाम्न पाइने रजिष्टार अशोक क्षेत्रीले जानकारी दिए। उनले भने, ‘प्रतिवादीले म्याद बुझेपछि मात्रै त्यो दिनगन्ती सुरु हुन्छ। प्रतिवाद स्वयम् वा उनका घर परिवारका सदस्‍यले अदालतको पत्र नबुझेसम्म दिनगन्ती सुरु हुँदैन।’