काठमाडौं , १४ मंसिर ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यसै गरि व्यवस्था विरोधी आन्दोलन चलिरहे परिवर्तन र संविधानको रक्षार्थ जुनसुकै कदम चाल्न सकिने चेतावनी दिएका छन्।
श्रेष्ठले भने, ‘संगठित रूपमा षड्यन्त्रमूलक ढंगले गतिविधि जारी राखे भने अहिलेको परिवर्तन र संविधानको रक्षाका लागि जुनसुकै प्रकारको गम्भीरतापूर्वक नै कदम चाल्नुपर्ने हुन्छ। तर, वैधानिक गतिविधिलाई भने संविधानले नै सुनिश्चित गरेकाले त्यसलाई हामीले अन्यथापूर्वक पनि लिनुहुँदैन।’
संविधान सम्मत प्राप्त हक अधिकार प्रयोग गरेर विचार राख्न सबैले पाउने भन्दै अहिले नै आन्दोलनकारीहरुलाई बलपूर्वक नियन्त्रण गर्न भने नमिल्ने श्रेष्ठले बताए। उनले भने, ‘यसलाई त हामीले गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ। तर, संविधानले दिएको लोकतान्त्रिक अधिकार उपयोग गरेर आफ्ना विचार राख्न पाउने, प्रस्तुत गर्न पाउने हक–अधिकार सबैलाई हुन्छ। त्यसैले हामीले बलपूर्वक नियन्त्रण गर्न त मिल्दैन।’
श्रेष्ठले राजनीतिक दलहरुको नै कमजोरी गर्दा व्यवस्था विरोधी शक्ति सक्रिय भएको स्वीकारेका छन्। उनले सरकार जनताको इच्छा अनुसार काम गर्न नसके गम्भीर परिणाम आउने बताए। उनले भने, ‘हाम्रो पार्टीको सरकारले अत्यन्तै गम्भीर भएर कामको आत्मसमीक्षा गर्दै जनतालाई सामाजिक न्याय र समृद्धिको लक्ष्य पूरा गर्ने गरी काम गर्न सक्नुपर्छ। त्यसक्रममा भएका कमजोरी सच्याउने दिशातिर जानुपर्छ। त्यस्तो गर्न सकिएन भने निश्चित रूपमा गम्भीर परिणाम देखिन सक्छ।’
श्रेष्ठले ‘गम्भीर परिणाम’ भन्नाले प्रतिगामी शक्ती मौलाउने भएको स्पष्ट पारे। उनले लडेर लोकतन्त्र ल्याएपछि जे गरे पनि हुन्छ भन्ने मनस्थितिबाट बाहिर निस्किनु पर्ने बताए।
श्रेष्ठले भने, ‘जनअपेक्षा अनुरुप काम गर्न सकिएन भने त स्वाभाविक रूपमा जनतामा वितृष्णा र निराशा पैदा हुन्छ र त्यस्तो वेलामा प्रतिगामी शक्ति नै मौलाउने हो। त्यसपछि हाम्रो राष्ट्रियता कमजोर हुन्छ, अर्कोतिर प्रतिगमनको खतरा बढ्छ र नेपाल असफल राज्यतिर उन्मुख हुने खतरा बढ्दै जान्छ। त्यसकारण हामी गम्भीर हुनैपर्छ। लडेर लोकतन्त्र ल्याएपछि त जे गरे पनि हुन्छ भन्ने खालको सोच र व्यवहारबाट मुक्त हुनुपर्छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला