काठमाडौं , ११ मंसिर ।
नेपालको दुईदिने भ्रमणमा आएका भारतका विदेशसचिव हर्षबर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
‘भारतका विदेशसचिव हर्षवर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज (बिहीबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
आज बिहीबार बिहान काठमाडौं आइपुगेका श्रृंगलाले यसअघि नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नुका साथै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गरेका थिए।
उनी भोली गोरखा र मनाङ जिल्लामा भारतीय सहयोगमा सञ्चालित बिभिन्न कार्यक्रम उद्घाटन गर्ने लगायतका कार्यक्रम छन्। श्रृंगलाले नेपाली पक्षसँग भएको द्विपक्षीय कुराकानी निकै फलदायी भएको बताएका छन्।
नेपाली प्रतिनिधिमण्डलसँग बिहीबार भएको द्विपक्षीय कुराकानीपछि उनले सो प्रतिक्रिया दिएका हुन्। करिब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सम्पन्न भएको हो।
सो द्विपक्षीय बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व श्रृंगलाले गरेका थिए। होटेल याक एन्ड यतिमा भएको द्विपक्षीय बैठक सम्पन्न गरी सचिव श्रृंगला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गर्न परराष्ट्र मन्त्रालय सिंहदरबार पुगेका थिए।
सचिव पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत सहभागी थिए भने विदेशसचिव श्रृंगला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर विभाग)का सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी सहभागी थिए।