सेयर बजारको बुल यात्रा, ६० प्रतिशत उकालो लाग्यो नेप्से

रामेछाप खबर संवाददाता

काठमाडौं , ९ मंसिर ।

नेपालको सेयर बजार बुल यात्रा सुरु गरेको २० महिनाको अवधिमा ६० प्रतिशतले उकालो लागेको छ । २०७३ साउन १२ गते १८८१ अंकमा पुगेर बियरिस बनेको सेयर बजार २०७५ फागुन १९ गते त्यसपछिको न्यूनतम अंक ११००.५८ मा झरेको थियो । त्यसपछि बजारले बुल यात्रा सुरु गरेको हो । मंसिर ७ गते बजारले १८०० अंक पार गरिसकेको छ ।

कतिपय कम्पनी डेढ सय प्रतिशतभन्दा धेरैले बढिसकेका छन् । अंकित मूल्यनजिक र अंकित मूल्यभन्दा तल कारोबार भइरहेका अपी पावर, नेसनल हाइड्रोपावरलगायतका कम्पनी डेढ सय प्रतिशतले बढेका छन् । त्यस्तै विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, हिमालयन डिस्टिलरी, बोटलर्स नेपाल (तराई)लगायतका कम्पनी केही दिनको अवधिमै शतप्रतिशतभन्दा धेरैले बढिसकेका छन् । छोटो अवधिमा मूल्य दोब्बर हुने कम्पनीको सूची लामै बनिसकेको छ ।

यो अवधिमा कुल बजार पुँजीकरण पनि उल्लेख्य बढेको छ । सेयर बजारमा रहेका सम्पूर्ण कम्पनीको कुल मूल्य नेप्से परिसूचक न्यून हुँदा १४ खर्ब ३५ अर्ब रुपैयाँसम्म झरेको थियो । सोमबार कुल बजार पुँजीकरणले २३ खर्ब ८६ अर्ब रुपैयाँ पार गरेको छ । यो वृद्धि करिब ६६ प्रतिशतभन्दा बढी हो । अहिले दैनिक ५-६ अर्बको सेयर किनबेच हुन थालेको छ भने आइतबार सर्वाधिक ६ अर्ब ९० करोडको कारोबार भयो ।

सेयर बजार विश्लेषकहरू बजार बुलिस ट्रेन्डमा गएपछि तीनदेखि पाँच वर्षसम्म रहने बताउँछन् । बुलको २० महिना पार भइसके पनि नयाँ विन्दु कायम नभएसम्म यात्रा नरोकिने रविन्द्र भट्टराई बताउँछन् । उनका अनुसार नेपालको सेयर बजार विभिन्न तीन कारणले उकालो लागिरहेको छ- न्यून ब्याजदर, प्राविधिक परिवर्तन र कोरोनाभाइरस । कोरोनाभाइरसका कारण लगानीका अन्य क्षेत्र संकुचित भइरहेका बेला न्यून ब्याजदरले बजार वृद्धिको गति बढाउन सहयोग पुगेको छ ।

त्यस्तै प्राविधिक परिवर्तन हरेक बुलिसका लागि मेरुदण्ड बन्ने गरेको छ । २०७२ सालमा मार्केट डेप्थ (बजारको गहिराइ) हेर्न मिल्ने व्यवस्थाले बजारलाई १८८१ अंकको यात्रा तय गराएको थियो । यसपटक अनलाइन कारोबार वृद्धिको कारक बनिरहेको छ । उच्च कारोबार मूल्यले पनि यो आधारलाई थप बलियो बनाएको छ ।

प्राविधिक सुधार हुने हो भने नेपालको सेयर बजारको दैनिक कारोबार क्षमता ५ अर्बभन्दा बढी भएको जानकारहरुले बताउँदै आएका थिए । धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीले २०७५ कात्तिक २० गते काठमाडौँको होटल याक एन्ड यतिमा आयोजित अनलाइन कारोबार उद्घाटन कार्यक्रममै नेपालको सेयर बजारको दैनिक कारोबार क्षमता ५ अर्ब रूपैयाँभन्दा माथि भएको बताएका थिए । नेप्से बुलिस यात्रामा रहँदा कारोबार रकम एकैदिनमा ७ अर्बको हाराहारीमा पुग्न थालेको छ ।