काठमाडौं , २५ कार्तिक ।
सुनको मूल्य एकैदिन तोलामा ३४ सय रुपैयाँ घटेको छ । मंगलबार सुन तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार एकैदिन ३४ सय रुपैयाँ बढेको हो । यसअघि आइतबार तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै सोमबार पनि तोलामा ५ सय रुपैयाँ नै बढेर सुनको मूल्य तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य घटेसँगै त्यसको प्रभाव नेपालमा परेको महासंघले जनाएको छ । महासंघ अन्तर्गत भाउ निर्धारण समितिका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप बनेको खबरले एकै चोटी सुनको मूल्य घटेको हो ।
खोप बनेपछि अमेरिकाको अर्थतन्त्र बलियो हुने विश्वास बढेपछि सुनको मूल्यमा गिरावट आएको महासंघको भनाइ छ । अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको विजयसँगै डलर बलियो भएपछि सुनको मूल्य घटेको हो । बाइडेनले निर्वाचित भए लगत्त्तै कोभिडलाई प्राथमिकता दिने बताएका छन्।
अमेरिकी राष्ट्रपतिय चुनावको प्रभावले अब सुनको भाउ घट्ने अनुमान गरिएको महासंघ अन्तर्गत भाउ निर्धारण समिति संयोजक तेजरत्न शाक्यले जानकारी दिए।
त्यसैगरी चाँदीको मूल्य पनि मंगलबार घटेको छ । तोलामा मंगलबार चाँदी तोलामा ७० रुपैयाँ घटेर तोलाको १२ सय १५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।