नेकपा विवाद ‘फाइट टू फिनिस’ तर्फ मोडिएपछि प्रचण्डको ‘मूड चेन्ज

रामेछाप खबर संवाददाता

काठमाडौं , ३० कार्तिक ।

सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोपसहित पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद ‘फाइट टू फिनिस’ तर्फ गएको छ । पार्टीको विवाद ‘फाइट टू फिनिस’ तर्फ गएपछि दुबै पक्षले आआफ्नो तयारी गरेका छन् ।

ओली पक्षले सचिवालय बैठकमा औपचारिक रुपमा प्रस्तुत भएको प्रस्ताव फिर्ता गर्न मागे गरेपनि प्रचण्डले सचिवालय बैठकमा औपचारिक रुपमा प्रस्तुत भएको प्रस्ताव फिर्ता नहुने प्रष्ट पारेका छन् । विधि र प्रक्रिया अनुसार सञ्चालित बैठकमा पेश भइसकेको प्रस्ताव औपचारिक निर्णयमा नपुगि फिर्ता हुन नसक्ने प्रचण्डले प्रष्ट पारेपछि बालुवाटारमा सन्नाटा छाएको हो ।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष पक्षका नेताले प्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै विभिन्न अभिव्यक्ति दिएपछि प्रचण्डले आफू निकट नेताहरुसँग प्रक्रिया अनुसार बैठकको एजेण्डा बनिसकेको विषय फिर्ता नहुने बताएका हुन् । सबैको सहमतिमा सुरु भएको सचिवालय बैठक अब एक दुई जना व्यक्ति नआउने धम्कीले नरोकिने प्रचण्ड पक्षीय नेताहरुको भनाइ छ । यसले ओली पक्ष झनै निराश भएको छ ।

ओलीले बालुवाटारमा निरन्तर छलफल गरेको र बैठक बस्न नसक्ने चेतावनी दिएपछि प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाशे’ ले बैठकको निरन्तरतालाई जोड दिने भएका छन् ।

सहमतिमै राखिएको बैठक अब निष्कर्षमा नपुगेसम्म नरोकिने एक सचिवालय सदस्यले बताए । बैठकलाई निष्कर्षमा पुराउने र विवाद अन्त्यका लागि ठोस निर्णय गर्ने तयारी प्रचण्ड पक्षका नेताहरुको छ ।

एक नेताले भने, ‘पार्टीका नेताहरुलाई गाली गर्न लगाउने संस्कार उहाँ (ओली) ले भित्राउनु भएको छ । गम्भीर विषयमा कार्यकारी अध्यक्षले प्रस्ताव पेश गर्नु भएको छ । यो विषयको टुंगो लागेर जान्छ । गफ गर्ने र काम नगर्ने कल्चरको विकास प्रधानमन्त्रीबाटै भयो । झण्डै तीन वर्ष पुग्न लाग्दासमेत सरकारले जनताको पक्षमा राम्रो काम गर्न सकेन ।अब यी सबै विषयमा खुलेर छलफल हुन्छ ।’

कोरोना महामारीकै बीचमा पार्टी फुटको डिलमा पुगेका बेला नेता कार्यकर्तामा पनि सन्नाटा उत्पन्न हुन थालेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।