काठमाडौं, १५ कार्तिक ।
चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । कोरोना कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई कोरोनाको हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो ।
कोरोना भाइरसका कारण गत वैशाखमा हुने गरी तय भएको परीक्षा कार्यतालिका सरकारले स्थगन गरेको थियो । स्थगित उक्त परीक्षा आगामी मङ्सिर ९ गतेबाट सञ्चालन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।
भौतिक दूरी जरुरी : नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी यस पटकको परीक्षामा मर्यादा कायम गराउनुका साथै स्वास्थ्यका दृष्टिकोणले पनि सुरक्षित हुनुपर्ने बताउन्छन् । परीक्षा केन्द्रमा स्वास्थ्यका सबै पूर्वाधार पूरा गरेको हुनुपर्ने उनको भनाइ छ ।
परीक्षा केन्द्रमा विद्यार्थीलाई भौतिक दूरी कायम गरेर मात्र परीक्षा लिनुपर्ने माग गरिएको छ । मास्कको अनिवार्य प्रयोग गर्न लगाउनुपर्ने, घरबाटै सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र सेन्टरमा समेत त्यसको प्रबन्ध हुनुपर्ने माग अभिभावकहरूले गरेका छन् । विद्यार्थीलाई राम्रो हावा खेल्ने वातावरण अनुकूल भएको कक्षा कोठामा परीक्षा लिनुपर्ने सुझाव अभिभावकहरूको छ ।
कोरोना सर्ने सम्भावना कम हुने भएकोले विद्यार्थीलाई सोही अनुसारको कक्षा कोठाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । यसका लागि अभिभावकले पनि विद्यार्थीलाई परामर्श दिनुपर्ने अध्यक्ष भण्डारीको भनाई छ ।
एक बेञ्च, एक विद्यार्थी : राजधानीको पद्मोदय माध्यमिक विद्यालयले एक जना विद्यार्थीलाई एक बेञ्चमा राख्ने गरी कक्षा १२ को परीक्षा लिने आन्तरिक तयारी गरेको छ । विद्यालयका सहायक प्रधानाध्यापक नारायण गौतम विद्यार्थीका बीचमा भौतिक दूरी कायम गराउन एक जना परीक्षार्थीलाई एउटा बेञ्चमा राख्ने गरी परीक्षा लिइने जानकारी दिए ।
विद्यार्थीलाई विद्यालयमै स्वास्थ्य सामग्री उपलब्ध गराउने र स्वास्थ्यका मापदण्डलाई पालना गर्दै परीक्षा लिइने जनाइएको छ । विद्यार्थीका साथै परीक्षामा परिचालन भएका शिक्षक जोखिममा पर्न सक्ने भएकोले त्यसमा समेत विचार पु¥याउनुपर्ने अवस्था रहेको जनाइएको छ ।
यस्तो छ बोर्डको तयारी : राष्ट्रिय परीक्षा बोर्र्डले कक्षा १२ को परीक्षालाई विगतको भन्दा भिन्न तरिकाले सञ्चालन गर्न खोजेको छ । यस पटक विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र्र र होम सेन्टर दिइएको छ ।
यसबाट विद्यार्थीलाई डेरा लिएर बस्नु नपर्ने, धेरै टाढा जानु नपर्ने र परीक्षार्थीका बीचमा धेरै जमघटसमेत हुनु नपर्ने भएकोले परीक्षालाई स्वास्थ्यको हिसाबले पनि सुरक्षित बनाउन सकिने जनाइएको छ । ४० नम्बरको लिखित परीक्षाका लागि यस पटक विद्यार्थीहरू बढीमा डेढ घण्टा मात्रै परीक्षाहलमा रहनेछन् ।
जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने गरी प्रत्येक विद्यार्थीको कम्तीमा दुई-दुई मिटरको दूरी कायम गरी एउटा परीक्षा हलभित्र बढीमा २० परीक्षार्थी रहने व्यवस्था मिलाई, स्थानीय तह, स्वास्थ्य सङ्घ, संस्थासँग आवश्यक समन्वय गरी परीक्षा सञ्चालन गर्ने व्यवस्था बोर्डले मिलाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।