आज राति मृगशिरा उल्कावर्षा हुने, यी राशिलाई यस्तो असर पार्नसक्छ, के हो उल्कावर्षा, कसरी हेर्ने ?

रामेछाप खबर संवाददाता

काठमाडौं ।

हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् । हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारीएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्कावर्षा हुने गर्छ ।

आजको उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई मृगशिरा उल्कावर्षा (ओरियनिड मिटियर सावर) नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। अक्टोबर २ देखि आफ्नो सक्रियता देखाउने यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ ।

उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समयअनुसार अक्टोबर २० राति १० : ४५ देखि नै सुरु भइ अक्टोबर २१ को बिहान ५ : ४५ बजेसम्म देख्न सकिनेछ । उल्का वर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम मानिन्छ । अत्यधिक उल्कावर्षाको बेला प्रतिघण्टा १५ वटासम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाको गति प्रतिसेकेण्ड ६७ किमीसम्म हुने भएकाले करिब ७० किमीमाथि वायुमण्डलमा घर्षण पैदा भइ यस्तो दृश्य देखिने पनि उनले बताए।

के हो उल्कावर्षा ?

पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्दछ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुगेका बेला धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिने सोसाइटीले जनाएको छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।