काठमाडौं, ४ कात्तिक ।
जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।
निषेधाज्ञा अवधिभर मोरङ जिल्लामा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामो दूरीका यातायातबाहेक आवत–जावत नगर्न आदेश दिएको छ । १२ दिने निषेधाज्ञा जारी गर्दै प्रशासनले भीडभाड नहुने गरी किनमेल र भेटघाट गर्न तथा भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य लगाउन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ । सो अवधिभर नियमितको पूजापाठ बाहेक मानिसहरुलाई भेला जम्मा हुने गरी उत्सव नगर्न र भजनर्कीतन नगर्न सूचना गरेको छ । समूहमा भेला भएर कार्यक्रम गर्न, शुभकामना आदनप्रदान गर्न र चियापान गर्न रोक लगाइएको छ ।
त्यस्तै, सामुहकि रुपमा गरिने सबै खालका कार्यक्रमहरु उद्घाटन, शिलान्यास सभा सम्मेलन, प्रशिक्षणलगायतका कार्य पनि जिल्ला प्रशासनले रोक लगाएको छ । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रचलित कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो ।