उदयपुर, २ कार्तिक ।
सिद्धिचरण लोकमार्ग अन्तरगत उदयपुरको कटारी-घुर्मी सडकखण्डको भदौरे भीरमा शनिबार राति स्कारपियाे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
कटारी नगरपालिकाको वडा नं. १४ भदौरे भीरमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२० च ७१७१ नम्बरको स्कारपियो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय कटारी जनाएको छ ।
स्कारपियो राति १२ बजे दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको पहिचान खुलेको छैन । मृतकमध्ये ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको मात्र पहिचान खुलेको छ । बाँकीको बारेमा सोधखोज भइरहेको ईलाका प्रहरी कार्यलय कटारीका प्रमुख (डिसपी ) हेमन्त भण्डारी क्षेत्रले बताए ।
दुर्घटनामा परेर मृत्यु भएकामध्ये अन्दाजी ३२ वर्षका पुरुष, ३५ वर्षका पुरुष र अर्की ३५ वर्षकी महिलाको पहिचान हुन सकेको छैन । ‘भैरहवाबाट ओखलढुङ्ग्गा आउने व्याक्तिका परिवारहरुलाई जानकारी गराइएको छ, उहाँहरु कटारी आउँदै हुनुहुन्छ कटारी आएपछि अन्य तीन जनाको समेत पहिचान खुल्नेछ,’ डिसपी भण्डारीले भने ।
पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै ज्यान गएको हो । अहिले मृतकको शवलाई पोस्टमार्टमका लागि कटारी अस्पताल ल्याइँदै गरेको डिसपी भण्डारीले बताए । दुर्घटनामा परेको गाडी भने घटनास्थलमै रहेको छ ।
दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते छन् । उनीहरुलाई कटारी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको छ । कल्पनाको टाउको र शरीरमा चोट लागेको छ भने कुमारीको दाहिने खुट्टामा गहिरो चोट लागेको छ ।
प्रहरीले राति ब्रेक फेल भएर स्कोरपियाे दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । गाडी सडकबाट करिब ९ सय मिटर तल खसेको छ । उनीहरु सबै जना भारतबाट दशैँ मान्नका लागि घरतर्फ आउने क्रममा भैरहवा क्वारेन्टाइनमा बसेर गाडी रिजर्भ गरी गएको बुझिएको प्रहरीले जानकारी दिएको छ ।
मृतकको शव ईलाका प्रहरी कार्यलय कटारीको टोली, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा शव निकालिएको थियो ।