पर्साको वीरगन्जस्थित अपार्टमेन्टबाट साढे २२ किलो अवैध सुन बरामद

रामेछाप खबर संवाददाता

वीरगंज, २ कात्तिक ।

प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । केही दिनदेखि निगरानी गरिरहेको प्रहरीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो ।

त्यसक्रममा प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद भएको छ । सुनका गरगहना पनि बरामद भएको छ, जसको तौल ६८१ ग्राम छ ।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको बताए । सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन । सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसम्म अपार्टमेन्टमा अवैध सुन लुकाएर राखिएको सूचना पुगेको थियो । सो सूचनापछि प्रहरी अपार्टमेन्टमा छापा मार्न पुगेको थियो । हाईस्पीड संवाददाता