काठमाडौँ, १ कात्तिक ।
शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट आएका नेतासँग भेट गरेका छन । भेटमा उनले दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिए । उनले शनिबार दिउँसो सरकारी निवास बालुवाटारमा बोलाएर कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने बताए ।
सो बैठकमा के पी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ लाई पनि बोलाए थिए । तर उनले आउन अस्वीकार गरेको दाहाल निकट स्रोतले जनाएको छ ।
नेकपा कर्णालीका नेतालाइृ ओलीले भने, ‘तपाईँहरुले हामी दुई अध्यक्षले निकाल्ने निष्कर्ष मान्नुहोस् । अब चाँडै हामी बसेर त्यहाँको विवाद मिलाउँछौं’, प्रधानमन्त्री ओलीलाई उदृत गर्दै सहभागी एक नेताले भने । उनका अनुसार, ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लगाउने बताएका थिए । कर्णालीका दुवै पक्षका नेतासँग कुरा गरिसकेकाले बालुवाटार नआउने सन्देश पठाएका थिए ।
प्रचण्डले बिहीबार र शुक्रबार दुई पक्षका नेतालाई बोलाएर कुरा सुनेका थिए भने बरिष्ठ नेता माधवकुमार नेपालले पनि कर्णालीको नेताहरुबाट जानकारी लिएका छन् । यस्तै कर्णाली इन्चार्ज जनार्दन शर्मा पनि आउन नसक्ने जानकारी पठाएका थिए । बालुवाटारमा भएको छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका सहइन्चार्जहरु प्रकाश ज्वाला र यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा र नेता चन्द्रबहादुर शाहीले आ(आफ्नो धारणा राखेका थिए ।
नेकपा संसदीय दलका नेता शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको विवाद छताछुल्ल भएको थियो । तर माधवकुमार नेपाल खेमाका नेताहरु अविश्वासको प्रस्तावबाट पछि हटेपछि शाहीको मुख्यमन्त्री पद भने जोगिसकेको छ ।
नेपाल समूहलाई थप तीन मन्त्री दिने मुख्यमन्त्री शाहीले सहमति जनाएका छन् भने कर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् ।