काठमाडौं, २९ असोज ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ ।
आज बसेको महानगरको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो । लकडाउनपछि बीचको अवस्थालाई हरेर थप निर्णय गरिने महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।
यसैबीच विराटनगर महानगरपालिकामा शुक्रबार थप १० जनामा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार थप ४ महिला र ६ पुरुषसहित १० जना कोरोना संक्रमण देखिएको महानगरपालिकाले जनाएको छ ।
योसँगै महानगरभित्रका कोरोना संक्रमितको संख्या १०७ पुगेको छ । कोरोना पोजेटिभ देखिएकामध्ये ४ जना कोसी अस्पतालमा परीक्षण गराएका हुन् भने अन्य ६ जना महानगरकै विभिन्न वडाबाट महानगरले स्वाब संकलन गरेकाहरु हुन् ।संक्रमितहरुमा तीन जना कोशी अस्पतालका कर्मचारी छन् ।
विराटनगर–५ का एक महिला र एक पुरुष, विराटनगर–२ का एक महिला र एक पुरुष, विराटनगर–११ का १ महिला र १ पुरुष, विराटनगर–६ का एक पुरुष, विराटनगर १७ का एक पुरुष, विराटनगर १२ का एक पुरुष र वडा नखुलेका अर्का पुरुषमा संक्रमण देखिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।