आज नयाँ मन्त्रीको सपथग्रहण, दाहाल र नेपाललाई भने निम्ता पनि छैन

रामेछाप खबर संवाददाता

काठमाडौं, २९ असोज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । मन्त्रीमण्डल पुनगर्नगठन सहमतिमा नभएको भन्दै सत्तारुढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिकृया दिएका छन् । मन्त्री र मन्त्रालय वाडफाडका विषयमा आफुसंग सहमति नभएको प्रतिकृया दाहालले दिएका हुन् । यस्तै अवस्थामा विहिवार नवनियुक्त मन्त्रीहरूको शपथग्रहणमा समेत दाहाल र अर्का नेता माधवकुमार नेपाललाई समेत निम्ता नभएको बुझिएको छ ।

राष्ट्रपतिका स्वकीय सचिव डा।भेषराज अधिकारीका अनुसार बिहान साढे ११ बजे हुने शपथ ग्रहणको तयारी पूरा भएको छ । कोरोनाको महामारीका कारण जमघटमा कडाइ गरिएकाले नआई नहुने व्यक्तिहरू बाहेक शपथग्रहणमा अरू कोही सहभागी नुहने राष्ट्रपति कार्यालय निकट स्रोतले जनाएको छ ।

उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, केही मन्त्रीहरूसहित सीमित पदाधिकारीहरु मात्रै शपथग्रहणमा सहभागी हुनेछन् । त्यसैले अन्य कुनै पनि नेताहरुलाई सपथग्रहणमा समेत बोलाइएको छैन ।

निकट स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीहरूलाई शपथग्रहणमा बोलाइएको छैन । नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि शपथ ग्रहणमा बोलाइएको छैन ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना मन्त्री थप्दै केहीको जिम्मेवारी हेरफेर गरेका थिए । मन्त्रिमण्डल पुनर्गठनका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेललाई रक्षामन्त्रीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त मन्त्रालय आफैँ राखेका छन् ।

पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारीबाट भने मुक्त गरिएको छैन । अर्थमन्त्रीको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेलले पाएका छन् । यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकासमन्त्री र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ । महिला बालबालिका मन्त्रालयमा रहेका पार्वत गुरुङले भने सञ्चार मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् ।