काठमाडौं, २८ असोज ।
कर्णाली प्रदेशको सत्तारूढ दल नेकपामा दिनदहाडै विद्रोह भयो, प्रदेशको विद्रोहले केन्द्रसम्मै तरंगित भयो । तर, रातारात साम्य भयो । कर्णालीमा केन्द्रको भन्दा केही फरक खालको समीकरण देखिएको थियो ।
केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको मोर्चाबन्दी भए पनि प्रदेशमा त्यो देखिएन । कर्णालीमा पूर्वएमालेका सबै र केही पूर्वमाओवादी सांसदसमेत प्रचण्डपक्षीय महेन्द्रबहादुर शाहीको विपक्षमा उभिए । तर, प्रचण्डले केन्द्रको समीकरण ब्युँताउन र प्रदेशमा मुख्यमन्त्री शाहीविरुद्धको मोर्चा फुटाउन रातारात भूमिका खेले ।
माधव नेपाललाई भेटेर उनका पक्षका सांसदलाई कदम रोक्न आग्रह गरे । त्यसका लागि केही पदको लेनदेन समेत केन्द्रमै भयो । एक जना सचेतक र दुई मन्त्री नेपाल पक्षलाई दिने भनेर असन्तुष्टिको सम्बोधन गरियो ।
यता लेनदेन भइसकेको सुइँको पाएपछि ओली पक्षबाट संघीय संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्ना पक्षका नेतालाई फोन गरेर अविश्वासको प्रस्ताव अघि नबढाउन भने । प्रस्ताव अघि बढाए अरू समस्या निम्तिने जोखिमबारे पनि उनले ब्रिफिङ गरे ।
ओली पक्षले देखेको जोखिम पूर्वएमाले र पूर्वमाओवादीको विभाजित मनोविज्ञानमा खेल्ने र आफू पूर्वएमालेको आधिकारिक खेमा बन्ने ओली पक्षको प्रयास पहिलेदेखिकै हो । आफूमाथिको संकट टार्न हरेक पटक यस खेमाले यो हतियार प्रयोग गर्दै आएको छ ।
पछिल्लो समय केही मुख्यमन्त्री परिवर्तन र केन्द्रका मन्त्री हेरफेरका लागि दबाब दिइरहेका प्रचण्डलाई कमजोर तुल्याउन उही सूत्र कर्णाली प्रदेशमा प्रयोग गर्न खोजियो ।
एक चरणमा यमलाल कँडेल नेतृत्वको विद्रोही समूहले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर सफल पनि भयो यो समूह । तर, भोलिपल्ट शाहीले ओली खेमामाथि फायर खोले र ओली पक्षका प्रमुख सचेतक गुलाबजंग शाहलाई नै पदमुक्त गरिदिए ।
उनले बोलाएको संसदीय दलको बैठक निस्तेज बनाइदिए र आफ्नै खेमाकी सीताकुमारी नेपालीलाई उनले बैठक सार्न लगाए ।
प्रचण्डले माधव नेपाललाई आफ्नो पक्षमा मनाएपछि उता नेपाल पक्षका आठ सांसदले रातारात कित्ता परिवर्तन गरे । प्रदेशमा गरिएको विद्रोहले बरु केन्द्रसम्मै असर गर्ने देखियो । प्रचण्ड र नेपाल मिलेर फेरि केन्द्रमा ओलीकै कुर्सी हल्लाउने जोखिम देखियो ।
त्यसै पनि प्रचण्ड, नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू ओलीलाई गलाउन लागिपरेकै छन् । त्यसमाथि कर्णालीको रडाकोले अर्को मसला दिने भएपछि कदम स्थगित गर्नुपर्ने निधोमा ओली पक्ष पुगेको देखिन्छ ।
यता प्रदेश १ र ३ का मुख्यमन्त्रीविरुद्ध प्रचण्ड र नेपालपक्षीय नेताहरुको मोर्चाबन्दी चलेमा ओली पक्ष थप कमजोर हुने देखियो ।
कर्णालीका मुख्यमन्त्री त जोगिने भए नै, भएका अरू मुख्यमन्त्री पनि धरापमा पर्ने देखिएपछि ओली पक्ष रोकिएको प्रस्ट छ । कर्णालीको विद्रोह तत्काललाई मत्थर पारिए पनि पार्टीभित्रको रडाको भने तत्काल साम्य नहुने देखिएको छ ।
केन्द्रको विभाजन र वैमनस्यता तल्ला तहसम्म पुगेर विस्फोटक बनिसकेको कर्णाली घटनाले प्रस्ट पारिसकेको छ । अब यस्ता विस्फोटहरू अन्यत्र पनि देखिँदै जान सक्ने प्रबल सम्भावना छ ।
देश महामारीले आक्रान्त भएका बेला नेतृत्वमा देखिएको झगडाले आमनागरिकमा समेत नैराश्य पैदा गरिरहेको छ । भित्रभित्रै फैलिको असन्तोष, निराशा र आक्रोश बिस्तारै आकारमा ढालिँदै छ ।
त्यसैले अब पार्टीभित्र मात्र होइन, जनस्तरबाटै पनि भयानक विस्फोट हुन सक्नेछ । त्यो वि:स्फोट कर्णाली विद्रोहजस्तो एक आदेशका भरमा साम्य हुने छैन ।
त्यसले अझ बढी क्षति गराउनेछ । हाल कुर्सीमा रहेका र कुर्सी ताकेकाहरू कोही पनि त्यस विस्फोटका सिकार हुन सक्नेछन् ।