काठमाडौं, २७ असोज ।
विश्वमा कोरोना महामारी हुनुभन्दा पहिला नेपालबाट दैनिक १ हजारभन्दा बढि युवाहरु रोजगारीका लागि विदेशीने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ। देशमा उचित रोजगारीको अवसर नपाएकाले युवाहरु विदेशीन बाध्य भएका हुन्।
तर, अब त्यस्तो बाध्यता नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार आयोजित विशेष कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही वर्षभित्रै रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाउने गरी सरकारले काम गरिरहेको बताएका छन्। उनले रोजगारीकै लागि विदेश जानुपर्ने स्थिति अन्त्ये गर्नेगरी सरकारले रणनीति बनाएको बताएका छन्।
प्रधानमन्त्री ओली तीन करोड जनसंख्या भएको देशका २६ लाख युवा बाहिर हुनु खुसीको कुरा नभएको बताए। ‘देश निर्माण गर्नुपर्ने मुख्य शक्ति नै देश बाहिर जानु अवश्य नै खुसीको कुरा होइन’, उनले भने, ‘त्यसैले हामीले यस दिशामा ठोस प्रयासहरु अगाडि बढाएका छौं। र हामी केही वर्षभित्र रोजगारीका लागि, छनौटका हिसाबले बाहिर जानु बेग्लै कुरा हो, बाध्यताको हिसाबले बाहिर जाने स्थितिलाई अन्त्य गर्ने रणनीतिका साथ सरकार काम गरिरहेको छ।‘
देशमा अहिले ६० प्रतिशत जनसंख्या सक्रिय जनशक्ति रहेको र त्यस मध्ये पनि ४० प्रतिशत युवा रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको विकासको एक महत्वपूर्ण आधार युवाजनशक्ति भएको बताए। उनले युवा जनशक्तिको उचित प्रयोग गर्न सकिने हो भने देश विकास गर्न कुनै समय नलाग्ने बताए।