कर्णाली प्रदेशमा शाहीको सरकार डगमगाउन थालेपछि अध्यक्ष प्रचण्डलाई तनाव

रामेछाप खबर संवाददाता

काठमाडौं, २७ असोज ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र हलचल सुरु भएको छ । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा संसदीय दलको नेताबाट हटाउन नेकपा संसदीय दलमा आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि त्यसको असर केन्द्रसम्म परेको छ । उक्त विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालसँग आज छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड आज बिहान बालुवाटार पुगेका थिए । भेटका क्रममा कर्णाली प्रदेशमा पार्टीकै सांसदबाट दलमा दर्ता गरिएको अविश्वासको प्रस्तावबारेमा प्रधानमन्त्री ओलीलाई अध्यक्ष प्रचण्डले जानकारी राखेका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री शाही तत्कालीन माओवादी पार्टीको नेता हुन् । उनलाई पूर्व एमाले नेता यामलाल कँडेलले चुनौती दिएका छन् ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार मन्त्रिपरिषद पुनर्गठनको विषयमा पार्टीभित्र छलफल भइरहेकैबेला अकस्मात अविश्वासको प्रस्ताव आउनु पार्टी स्पिरिटअनुसार नभएको भन्दै त्यसलाई रोक्न अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । अध्यक्ष दाहालले पार्टीको स्थायी कमिटी बैठकले दिएको जिम्मेवारी र म्यान्डेटअनुसार पार्टीभित्र छलफल जारी रहेकाले तत्काल अविश्वास प्रस्ताव आउनु पार्टीहितमा नरहेको अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

अध्यक्ष प्रचण्डले आजै वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् । नेता नेपालका प्रमुख स्वकीय सचिव मोहन गौतमका अनुसार दुई नेताबीच खुमलटारमा छलफल भए पनि के विषयमा छलफल भएकोबारे जानकारी गराइएको छैन । भेटमा अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपाललाई पनि अविश्वासको प्रस्ताव रोक्न आग्रह गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी गराएको छ ।