नेपालमा बसेर आईपीएलमा सट्टेबाजी, गिरोहका नाइकेसहित ७ जना पक्राउ

रामेछाप खबर संवाददाता

काठमाडौं, २६ असोज ।

संयुक्त अरब ईमिरेट्स (यूएई)मा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा सट्टेबाजी गर्ने ७ जना काठमाडौंबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त कालिमाटीले आइतबार ६ र सोमबार थप १ गरी ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत घर भइ काठमाडौंको कमलपोखरीस्थित कोटल कोर्नाकमा बस्दै आएका कुलदीप शारण भारत नै घर भएका सञ्जिव शारण, भारतको राजस्थान घर भइ काठमाडौंको बसन्तपुर बस्ने ४६ वर्षीय नवीन जैन र भारतको कानपुर घर भइ काठमाडौंको कुलेश्वर बस्ने ३८ वर्षीय अजय गौतम छन् ।

यस्तै, सिन्धुपाल्चोकका प्रदीप घिमिरे, काठमाडौंको कुलेश्वरका उत्तम सापकोटा तथा काठमाडौं सोल्टीमोड बस्दै आएका अनिवकुमार बंसल छन् ।

प्रहरीले पक्राउ परेका सातैजनाबाट नगद १ लाख ८५ हजार १ सय २० रुपैयाँ बरामद गरेको छ ।

काठमाडौंको कालिमाटी क्षेत्रमा आईपीएलको सट्टेबाजी भइरहेको भन्ने सूचनाको अधारमा खटिएको प्रहरीले आइतबार र सोमबार गरी ८ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले कालिमाटीबाट कुलदिप शारणलाई नियन्त्रणमा लिएपछि सट्टेबाजीमा संलग्न गिरोहका भारतीय तथा नेपाली सदस्यहरु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ परेका सातै जना सट्टेबाजीका एजेन्ट हुन् । आईपीएलमा हुने सट्टेबाजी भारतबाट नै खेलाउने गरिन्छ ।

पक्राउ परेकाहरुले भारतमा बसेर ओम सरहले सट्टेबाजी खेलाउने गरेको र आफूहरुलाई एजेन्टको रुपमा परिचालन गरेको प्रहरीलाई बयान दिएका छन् ।

नेपालमा सट्टेबाजी खेलाउने मुख्य व्यक्ति कालिमाटीबाट पक्राउ परेका कुलदिप भएका प्रहरीको भनाइ छ । उनले ‘डार्क वेब’को प्रयो गरेर सट्टेबाजी खेलाउने गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार उनीहरुले आईपीएलका अतिरिक्त अरु पनि क्रिकेट लिगहरुमा सट्टेबाजी खेलाउने गरेका थिए ।

उनीहरुले अहिलेसम्म आईपीएलका अतिरिक्त क्यारेबियन प्रिमियर लिग, बिग ब्यास, बंगलादेश प्रिमियर लिग लगायतमा पनि सट्टेबाजी खेलाएका छन् ।