‘कर्णाली विद्रोह’प्रति पूर्वमाओवादीको चेतावनी- लहरो तान्दा पहरो खस्ला

रामेछाप खबर संवाददाता

काठमाडौं, २६ असोज ।

नेकपा कर्णाली प्रदेश संसदीय दलका बहुमत सदस्यले त्यहाकाँ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दलको कार्यालयमा दर्ता गरेपछि पूर्वमाओवादी केन्द्र सशंकित बनेको छ ।

कर्णाली प्रदेशमा पूर्वएमालेहरू एक भएर मुख्यमन्त्री बनेका शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि पूर्वमाओवादी केन्द्रका नेताहरूले बहुमतको बलमा अरू प्रदेशमा पनि मुख्यमन्त्री हटाउने चेतावनी दिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालको निर्देशनअनुसारै माथि काम भएको हुनसक्ने औंल्याउँदै पूर्वमाओवादी क्षुब्ध बनेको हो।

आक्रोशित प्रचण्डले बिहानै खुमलटारमा गोप्य भेला आयोजना गरेर नेता नेपालसँग सोधेको पूर्वमाओवादी केन्द्रका एक नेताले बताए । खुमलटारको भेलामा नेता नेपालनिकट सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायत नेताहरू उपस्थित रहेको स्रोतको दाबी छ । पूर्वमाओवादी केन्द्रका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रदेश इन्चार्ज जनार्दन शर्मा, वर्षमान पुनलगायत नेताहरू थिए । केही माधव नेपालनिकट केन्द्रीय सदस्यहरू पनि सहभागी थिए ।

“केन्द्रका नेताहरूको डिजाइनअनुसारै काम भएको हो भने यसको असर अन्यत्र पनि पर्छ। प्रदेश ३ मा कर्णाली विद्रोह दोहोरिनसक्छ । प्रदेश नम्बर १ मा पनि त्यो समस्या पर्छ,” एक पूर्वमाओवादी केन्द्रका नेताले बाह्रखरीसँग भने, “त्यहाँको पर्फमेन्स हामीलाई पनि चित्त बुझेको छैन। काम पनि गर्न नदिने, गरेन भनेर अविश्वासको प्रस्ताव ल्याउन पाइन्छ ?”

उनले पूर्वएमालेका पोलिटब्युरो र अहिलेका प्रदेशका सहइन्चार्ज रहेका यामलाल कँडेलको मुख्यमन्त्री बन्‍ने सपना भाँचिएकाले त्यसको प्रतिशोध साँधेको आरोप लगाए । कँडेलसहित पूर्वएमाले र माओवादी केन्द्रकासमेत गरी १८ सांसदले आइतबार मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसले नेकपाको केन्द्रीय राजनीति तरङ्गित बनेको छ । बाह्रखरी