काठमाडौं, २५ असोज ।
देशको संघीय राजधानी काठमाडाैं काेराेना ‘हट स्पट’ बन्दै गएपछि सरकारले फेरी लकडाउन गर्ने तयारी थालेको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशभर एकसाथ लकडाउन गर्ने अवस्था नभएको तर अति प्रभावित ठाउँमा भने लकडाउन हुने बताए ।उनले भने -‘फेरि नेपालमा राष्ट्रव्यापी लकडाउन हुने सम्भावना छैन ।’उनका अनुसार संक्रमण अध्यधिक बढ्यो भने ‘हट स्पट’हरुमा चाहिँ स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन वा सिल वा लकडाउन गर्नसक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले ७ असोजमा निष्कर्ष निकाल्यो, ‘सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो भने लकडाउन गर्नुपर्छ ।’
त्यसबेला सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ थियो । तर, संक्रमण दर बढिरहेको थियो र दैनिक थपिने संक्रमितहरुको व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको थियो । सक्रिय संक्रमितको सख्ंया २५ हजार नाघ्दा अस्पतालहरुको विद्यमान पूर्वाधारले नधान्ने भएकाले फेरि लकडाउन गर्नुपर्ने ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को निष्कर्ष थियो ।
त्यसैले, मन्त्रालयले देशभर सक्रिय संक्रमित २५ हजार नाघेमा फेरि लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरेको थियो । मन्त्रालयले यस्तो सिफारिस गरेको दुई सातापछि बुधबार सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको छ । मन्त्रालयका अनुसार बुधबार ३४३९ जनामा संक्रमण पुष्टि भएको छ र सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।
त्यसो भए अब फेरि लकडाउन हुन्छ त ?चैत १० मा नेपालमा दोस्रो संक्रमण पुष्टि भएसँगै सरकारले देशभर लकडाउन गरेको थियो, जुन साउन ६ सम्म कायम रह्यो । त्यसपछि सरकारले संक्रमण बढे निषेधाज्ञा जारी गर्र्ने अधिकार स्थानीय प्रशासनलाई दियो । सोहीअनुसार साउन अन्तिम साताबाट भदौभरि देशका धेरैै जिल्लामा निषेधाज्ञा जारी भयो ।
काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले भदौ ३ देखि तीन सातासम्म निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि सरकारले थप क्षेत्रहरु खुला गर्दै लगेको छ । र, त्यहीबेला स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सिफारिस गरेपछि दशैंकै बेला देशभर बन्दाबन्दी त हुने होइन भन्ने त्रास सबैतिर छायो ।तर, सरकारका प्रवक्ता मन्त्री ज्ञवाली भन्छन्, ‘अहिले दैनिक भेटिने संक्रमितमा आधाभन्दा बढी काठमाडौं उपत्यकाकै छन्, आइसोलेसन वार्डहरु पनि भरिँदै गएका छन् । यसका लागि विशेष व्यवस्था गर्नुपर्ला । तर, लकडाउन समाधान होइन ।’ ज्ञवालीले अगाडि भने, (सक्रिय संक्रमितको संख्या) २५ हजार क्रस गर्नासाथ लकडाउन गरिहाल्नुपर्छ भन्ने पनि होइन । त्यस्तो कुनै निर्णय भएको पनि छैन ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने देशभरका स्वास्थ्य संस्थाका कति बेड भरिए भन्ने तथ्यांक संकलन भइरहेको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले त्यो विवरण प्राप्त भएपछि अस्पतालको क्षमता हेरेर लकडाउन गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने जानकारी दिए । ‘अस्पतालको क्षमताले भ्याएसम्म लकडाउन गर्दैनौं । अन्यथा त गर्नैपर्ने हुन्छ’ उनले भने ।यस्तै काठमाडौं उपत्यकामा पछिल्ला केहि दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। बिहिबार मात्रै काठमाडौँ उपत्यकामा अहिलेसम्मकै बढी २५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० सय जनालाई संक्रमण पुष्टि भएको हो। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा मात्र ८२ जना आइसीयु र २७ जना भेन्टिलेटरमा उपचाररत रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा १८१ वटा आइसीयु वेड रहेकोमा बिहीबारसम्म ८२ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको जानकारी दिए ।
यस्तै उपत्यकामा ७६ वटा भेन्टिलेटर रहेकोमा २७ जना भेन्टिलेटरमा उपचारत भएको डा गौतमको भनाइ छ । डा गौमतले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उच्च भएकाले अत्यवश्यक काम नपरी घर बाहिर ननिस्कन पनि आग्रह गरे । उनले कोभिड अस्पतालहरुलाई पूर्ण तयारी अवस्थामा राखिएको र आकस्मिक उपचारको लागि २४ घण्टा नै सेवा उपलब्ध गराइएको जानकारी दिए ।
डा गौतमलले लक्षण बिहीन तथा सामान्य लक्षण भएका संक्रमितहरुलाई स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा गरी घरमै आइसोलेसनमा बस्न पनि आग्रह गरे । उनले घरमा बस्न सम्भव नभएमा टोल फ्रि नम्वार ११३३ मा सम्पर्क गर्न पनि आग्रह गरे । उनले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको स्वास्थ्यमा समस्या आएमा तुरुन्तै अस्पतालमा सम्पर्क गर्न पनि आग्रह गरे ।
डा गौतमलले कोरोना संक्रमणबाट जोगिन चाडपर्वको समयमा सम्भव भएसम्म अनलाइन सेवाबाट आवश्यक सामाग्री खरिद गर्न, सामाग्री खरिद गर्न घर बाहिर निस्किनु परेमा अनिवार्य रुपमा मास्कको उचित प्रयोग गर्न, सकेसम्म दैनिक उपभोग्य सामानहरु नजिककैको पसलबाट खरिद गर्न,भिड नभएको समयमा गएर सामान खरिद गर्न, पसलमै गएमा सामाग्री किन्दा भौतिक दुरी कायम गर्न, सामान किन्नु अघि र किनेर घर फर्किएपछि साबुनपानीले हात धुन, सम्भव भएसम्म दैनिक उपभोग्य सामाग्रीहरु एकसताका लागि सम्म पुग्ने गरी खरिद गर्न पनि आग्रह गरे ।
कोरोना संक्रमणबाट बच्न सिधै पैसाको कारोबार भन्दापनि विद्युतिय वा कार्डको माध्यमबाट भुक्तानी गर्न पनि आग्रह गरे । यस्तै देशभर कोरोनाभाइरस निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।
बितेको २४ घण्टामा थप २ हजार ६७५ जना निको भएसँगै कोरोना निको हुनेको कुल संख्या ७१ हजार ३४३ पुगेको हो । हाल कोरोना जितेर डिस्चार्ज भएकाको प्रतिशत ७२ दशमलब ३ रहेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ४७३ जनाको पीसीआर भएको छ भने यससँगै कुल पीसीआर संख्या ११ लाख ३१ हजार ९५८ पुगेको छ ।
यस्तै देशभर सक्रिय संक्रमित २६ हजार ६४८ पुग्दा आजमात्रै ४,३६४जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्तमितको कुल संख्या ९८,६१७ पुगेको छ। निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण नभएका कारण संक्रमितको संख्या बढिरहेको मन्त्रालयले जनाएको छ ।यसैगरी नेपालमा कोरोनाबाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७९ वर्षीया, ललितपुरमा ७३ वर्षीया, भक्तपुरमा ८२ वर्षीया र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको छ ।
यस्तै सुनसरीमा ३९ वर्षीय, धनुषामा ७० वर्षीय, काठमाडौंमा ५८ वर्षीय, ९१ वर्षीय र कस्कीमा ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै चितवनमा ८१ वर्षीय, ८१ वर्षीय र ९२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ । हालसम्म मनाङ र मुस्ताङमा बाहेक सबै जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ७७ जिल्लामध्ये ८ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएका हुन् ।