पाल्पा, २४ असोज ।
जिल्लाको निस्दी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अध्यक्ष मुक्तबहादुर सारु र प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालसहित केही कर्मचारी र भारतबाट घर फर्किएका मानिसमा कोरोना पुष्टि भएको हो।
जनप्रतिनिधि, कर्मचारी र क्वारेन्टाइनमा बसेका समेत ५० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि पाल्पा अस्पतालमा सञ्चालित कोभिड १९ परीक्षण प्रयोगशालामा पठाइएको थियो।
उनीहरूमध्ये १० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशाले बताए। उनका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ। समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि गाउँपालिका र मातहतका सबै कार्यालय बन्द गरिएको छ ।
आगामी कात्तिक १ गतेसम्म अत्यवश्यक बाहेक सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले बताए। सम्पूर्ण शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, होटल तथा रेष्टुरेण्ट, निजी तथा सार्वजनिक सवारी साधनसमेत पूर्ण रुपमा बन्द गर्न भनिएको छ ।
शुक्रबार राती १२ बजेदेखि कात्तिक १ गते राती १२ बजेसम्म यो लागू हुनेछ । इमर्जेन्सी बाहेक सबै स्वास्थ्य संस्था बन्द हुने अर्यालले बताए। खाद्यन्न पसल भने विहान ६ बजेदेखि ८ बजेसम्म खुल्नेछन्।
स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्ने छ। खाद्यन्न ढुवानी गर्न गाउँपालिकाको अनुमति लिनुपर्नेछ। एम्बुलेन्स चौबीसै घण्टा खुला रहने उनले बताए।